भारतले फेरि दुखायो नेपालीको मन, कब्जा गर्‍यो जमिन

वीरगञ्ज । सीमा स्तम्भ निर्माण गर्ने क्रममा वीरगन्ज महानगरपालिका–१ बजार छपकैयाँको ५० बिघा नेपाली भूभाग भारतमा पर्ने भएको छ ।

वर्षौंदेखि भोगचलन गर्दै आएको जग्गामा एक्कासि सीमा स्तम्भ गाडिएपछि स्थानीय बासिन्दा आश्चर्यमा परेका छन् ।

नेपाल–भारत संयुक्त सीमा सर्वेक्षण टोलीले स्तम्भ ३९१ र ३९२ अन्तर्गतका सहायक स्तम्भ निर्माण गर्ने क्रममा उक्त क्षेत्रको भूभाग भारततिर पर्ने भएको हो ।

उक्त जग्गाको नेपाली लालपुर्जा छ । जग्गाधनीले मालपोत कर तिर्दै आएका छन् । नागरिकता र लालपुर्जाले नेपाली नागरिक भए पनि जग्गा भारतमा पर्ने भएपछि स्थानीय आश्चर्यमा परेका छन् । कतिले केही वर्षअघि मात्र जग्गा खरिद गरेका थिए ।

नेपाल –भारत सीमासँगै बगेको सिरिसिया खोलाको धार परिवर्तन भएसँगै भारतीय पक्षले सीमा स्तम्भ राख्ने स्थान पनि परिवर्तन गरेको स्थानीयको दाबी छ ।

८६ वर्षीय महावीर दासका अनुसार अहिलेको सीमा सर्वेक्षण टोलीले साविक स्तम्भभन्दा झन्डै ५० मिटरदेखि एक सय मिटरसम्म नेपालभित्रको भूमिमा नयाँ स्तम्भ राखेको छ ।

त्यहाँ जान खोलामाथि निर्माण गरिएको बाँसको लच्का भारतीय सीमा सुरक्षा बलले हटाइदिने गरेका छन् । दासका अनुसार २०२२ सालको नापीका बेलादेखि नै बजार छपकैयाँका बासिन्दाको नाममा रहेको जग्गामा अहिले टोलीले स्तम्भ राखिरहेको छ ।

नेपाल–भारत सीमा व्यवस्थापनका लागि बजार छपकैयामा पर्ने मूल स्तम्भ (जंगे पिलर) ३९१ को ३८ र ३९ तथा ३९२ को ७, ८, ९, १०, २७ र २८ नम्बरको सहायक स्तम्भ नेपाली भूभागमा परेपछि स्थानीयले विरोध गरेका छन् ।

Published : Wednesday, 2018 January 17, 7:23 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया