डा.केसी साधारण तारेखमा रिहा, प्रधानन्यायाधीशको नागरिकता झिकाइयो

काठमाडौं । सर्वोच्च अदालतले अपहेलना मुद्दा पक्राउ परेका त्रिवि शिक्षण अस्पतालका डा.गोविन्द केसीलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ ।

न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र बमकुमार श्रेष्ठको संयुक्त इजलासले बुधबार केसीको स्वास्थ्यको ख्याल गरी उनलाई अधिवक्ता सुरेन्द्र भण्डारीको रोहबरमा रिहा गर्न आदेश दिएको हो ।

इजलासले केसीले उठाएको माग बमोजिम प्रधानन्यायाधीश गोपाल पराजुलीका शैक्षिक प्रमाणपत्र र नागरिकताको फाइल पनि झिकाउन आदेश दिएको छ ।

अदालतको आदेशमा भनिएको छ, ‘गोपाल पराजुलीको नामको काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट लिएका दुबै नागरिकताको प्रतिलिपी झिकाउनुका साथै न्यायपरिषदबाट उमेरका सम्बन्धमा भएको निर्णय तथा शैक्षिक योग्यताको प्रमाण पत्रका प्रतिलिपीसमेत झिकाउनु ।’

अदालत शशि शर्माको मुद्दाको पुस २३ गते भएको फैसलाको मिसिलसमेत मागेको छ ।

सर्वोच्चले गोविन्द केसीले बयानमा न्यायसम्पादन गर्ने न्यायाधीशहरूलाई म सम्मान गर्दछु, अदालतलाई घृणा हुने अभिव्यक्ति मैले दिएको छैन । स्वच्छ आलोचनामात्र गरी अदालतलगायत समाजलाई घच्घच्याएको हुँ भनेका कारण उनको स्वास्थ्य अवस्थालाई विचार गर्दै पछि ठहरबमोजिम हुने गरी रिहा गर्न आदेश दिएको हो ।

Published : Wednesday, 2018 January 10, 7:05 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया