यी हुन् कान्तिपुरका मालिकलाई टक्कर दिने व्यक्ति

काठमाडौं । व्यापारी अजेयराज सुमार्गी पराजुलीले विदेशबाट ल्याउन लागेको २२ अर्व भन्दा बढि रकम अबैध रहेको भन्दै कान्तिपुर मिडिया ग्रुपले एकोहोरो प्रहार गरेपछि सुमार्गीले पनि काउन्टर दिन थालेका छन् ।

स्रोतका अनुसार सुमार्गीलाई फसाउने डिजाइनमा कान्तिपुर मिडिया ग्रुपका सञ्चालक कैलाश सिरोहियालाई हालै मात्र यूटिएलमा कब्जा जमाउन लागेका गैर आवासिय नेपाली उपेन्द्र महतो र पूर्व आईजीपी उपेन्द्रकान्त अर्यालले पनि सघाएका छन् ।

कुनै समय सिरोहियासँग रुष्ट रहेका महतो र अर्याल सुमार्गी काण्ड बाहिरिएपछि एकाएक नजिकिन पुगेको स्रोतले बतायो । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानविनमा रहेका अर्यालले अख्तियारका निलम्बित पूर्व प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई साथ दिंदा सिरोहियालाई पटक्कै मन परेको थिएन ।

कार्की अख्तियारबाट निलम्बनमा पर्दा अर्यालले प्रहरीका उपकरणहरु गैरकानुनी रुपमा अख्तियारलाई उपलब्ध गराएको भन्दै अर्याल विरुद्ध कान्तिपुरमा समाचार प्रकाशित भएको थियो । तर, अहिले सिरोहिया सबैतिरबाट एक्लिएपछि उनै अर्यालसँग सम्बन्ध बढाएका छन् भने महतोसँगको तिक्तता पनि पछिल्लो समय मेटिएको छ ।

स्रोतका अनुसार अर्याललाई अख्तियारको कारबाहीबाट जोगाउन प्रमुख आयुक्त दिप बस्नेतसँग सेटिङ मिलाईदिने सिरोहियाले बचन दिएपछि अर्यालकै डिजाइनमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआईवी)लाई समेत दुरुपयोग गरी सुमार्गीलाई फसाउने खेल भइरहेको बुझिएको छ ।

कान्तिपुरले सुमार्गीका १२ कम्पनी, परिवार र आफन्तका नाममा अर्बौं रकम विदेशबाट भित्रिएको र सम्पत्ति सुद्दिकरण विभागले सुमार्गीमाथि कारबाही गर्न आलटाल गरिरहेको दावी गरेको छ । त्यस्तै, कान्तिपुरले सिआईवीलाई हवला दिएर सुमार्गीको मामिला अनुसन्धानको क्रममा रहेको र थप अनुसन्धान भइरहेको जनाएको छ ।

तर, सिआईवीका प्रमुख डिआईजी पुष्कर कार्कीले भने सम्पत्ति सुद्दिकरण विभागबाट केही जानकारी नआएको हुँदा अहिले नै आफूले केही बोल्न नमिल्ने यूनाइटेड पोष्टसँग बताए । कार्कीले भने–‘सुमार्गीको अनुसन्धानको विषय हामीलाई होइन सम्पत्ति सुद्दिकरण विभागसँग नै बुझ्दा राम्रो होला ।’ यस बारेमा विभागका महानिर्देशक जीवनप्रकाश सिटौलासँग सम्पर्क गर्न खोज्दा उनी सम्पर्कमा आउन चाहेनन् ।

यता, सुमार्गीले विभिन्न अनलाईन मिडिया मार्फत तीनकुनेमा रहेको जग्गा धितो राखेर नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडबाट लिएको ऋण तिर्न नसकेपछि कैलाश सिरोहिया तीन बर्ष अघि तनाबमा परेको बेला आफूले सहयोग गरेको सार्वजनिक गरेका छन् । उक्त जग्गा आफूले किनिदिएपछि सिरोहिया आर्थिक संकटमा पर्नबाट जोगिएको पनि सुमार्गीको दावी छ ।

तर, अहिले सिरोहिया आफु चोखो र सुमार्गी खराब भन्दै हिंडेका छन् । सिरोहियाले आफूसँग बार्गेनिङ गर्दै आएको र उनको त्यस्तो प्रस्ताव अस्वीकार गरेपछि आफूविरुद्ध मिडियाको दुरूपयोग गरेको आरोप सुमार्गीले लगाएका छन् । आफूले किनेको उक्त जग्गा पुरानै मूल्यमा फिर्ता गर्न नमानेपछि आफूविरुद्ध सिरोहियाले आधारहीन समाचार प्रकाशन तथा प्रसारण गरेको सुमार्गीले सिडियो कार्यालयमा दिएको उजुरीमा उल्लेख गरेका छन् ।

सुमार्गीले प्रशासनमा दिएको निवेदनमा आफ्नो सामाजिक तथा व्यावसायिक मान प्रतिष्ठामा क्षति पु¥याउँदै आफू र आफ्नो परिवारविरुद्ध भौतिक आक्रमणसमेत गराउन सक्ने भन्दै आफू तथा आफ्नो व्यापार व्यवसायसमेतको सुरक्षा दिन अनुरोध गरेका छन् । २०७४ सालमा सुमार्गी अध्यक्ष रहेको मुक्तिश्री सिमेन्ट इन्ड्रष्ट्रिज प्रालिले कान्तिपुरका कैलाश र उनकी पत्नी स्वस्तिका शेयरधनी रहेको काठमाडौं मार्ट प्रालिका नाममा दर्ता भएको काठमाडौंको तीनकुनेस्थित जग्गा खरिद गरेको थियो ।

पुरानै मूल्यमा जग्गा दिन नसकेपछि कान्तिपुरका सञ्चालक सिरोहियाले ‘भने बमोजिम नभएमा आफूलाई सिध्याउन जे जस्तो कार्य गर्न पनि पछि नपर्ने भनी धम्की दिएको’ पनि सुमार्गीले आरोप लगाएका छन् । सिरोहियाले भने सुमार्गीले लगाएको आरोप असत्य रहेको र उनको अवैध सम्पत्तिमाथि राज्यले छानविन गरेर कारवाही गर्नु पर्ने कान्तिपुरमार्फत धारावाहिक समाचार प्रवाह गरिरहेका छन् ।

केही दिन अघि सिरोहियाले बिभिन्न अनलाइनमा सुमार्गीसँगको बिबाद बारे भनेका थिए–‘मेरो र सुमार्गीको भेट र बोलचाल नभएको ३ वर्ष भयो । हो, मैले सुमार्गीजीलाई जग्गा बेचेको हो, बेचेको जग्गा म किन फिर्ता मागुँ ?’ अहिले सुमार्गीलाई शंकास्पद कारोबार गरेको र अबैध रकम बाहिर पठाएर पुनः नेपाल भित्राएर बैध बनाउन खोजेको सिरोहियाले आरोप लगाएका छन् ।

तर, अब प्रश्न उठ्छ–यदि सुमार्गीले अबैध कारोबार गरेको जानकारी पहिला देखी नै सिरोहियालाई थाहा थियो भने किन सिरोहियाले सुमार्गीसँग जग्गाको कारोबार गरे ? । आफैले अबैध भनेका व्यक्तिसँग २६ करोडको जग्गाको किनबेच गर्ने सिरोहिया कसरी आफुलाई बैध भन्न सक्छन ?

सुमार्गीले भने आफूमाथि सिआईवी र सम्पत्ति सुद्दिकरणले अनुसन्धान गर्ने हो भने सिरोहिया पनि अनुसन्धानको दायरामा आउनुपर्ने आफू निकटस्थसँग बताउन थालेका छन् ।

Published : Thursday, 2018 January 4, 9:47 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया