ओलीमाथि माओवादीले उठायो औँलो, ‘प्रचण्ड’ले गरे सिधै फोन

काठमाडौं । एमालेका नेताहरूले पार्टी एकीकरणमा विलम्ब गरिरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी ओलीलाई सिधै टेलिफोन गरेर पूर्वसहमति कार्यान्वयनमा दवाव दिएका छन् ।
प्रचण्डले दवाव दिएपछि ओलीले बुधबार भेटेर कुरा गर्ने आश्वासन दिएका छन् । दुई नेताबीचको भेटवार्तापछि एकता संयोजन समितिको बैठक बोलाउने सहमति बनेको छ ।
माओवादीको केन्द्रीय कार्यलयको बैठकमा प्रचण्डले ओलीसँग भएको टेलिफोन संवादवारे जानकारी दिएका थिए । बैठकपछि माओवादी नेता देवेन्द्र पौडेलले ओली र प्रचण्डबीच भएको टेलिफोन सम्वादबारे जानकारी दिए ।
ओली र प्रचण्डबीच एक–दुई दिनभित्र पार्टी एकता संयोजना समितिको वैठक बस्ने सहमति बनेको थियो । तर, त्यसपछि बैठकको मिति तय हुन सकेको छैन । बैठकका लागि एमालेका अध्यक्ष ओलीले नै चासो नदिएको स्रोतको भनाइ छ ।
राजनीतिक कार्यदिशा र शक्ति बाँडफाँडको विषय नेताहरूका लागि सवैभन्दा पेचिलो बनेको छ । यही कारण एमाले–माओवादी पार्टी एकता संयोजन समितिको बैठक पनि बस्न सकेको छैन ।
एमालले अध्यक्ष ओलीलाई नै पार्टी अध्यक्ष र प्रधानमन्त्रीका रुपमा अगाडि सारेको छ । माओवादीले ओली प्रधानमन्त्री भए प्रचण्ड पार्टी अध्यक्ष हुनुपर्ने अडान राखेको छ ।
एमाले र माओवादीले असोज १७ गते चुनावी गठबन्धन घोषणा गर्दा चुनाव लगत्तै एकता प्रक्रिया अगाडि बढाउने बताएका थिए ।
कात्तिक १५ मा बामदेव गौतमको निवासमा एकता संयोजन समितिको बैठकपछि अर्को बैठक बसेको छैन ।
माओवादी प्रवक्ता पम्फा भुसालले एकताबारे आश्चर्यजनक नतिजा आउने बताइन् । ‘एमाले अध्यक्ष ओली कमरेडको स्वास्थ्यमा आएको समस्याले छलफल अलि लम्बिएको हो । पार्टी एकता प्रक्रिया अगाडि जान्छ । पार्टी एकता र सरकार गठनबारे कुनै समस्या छैन । तपार्इंहरूले एकताको आश्चर्यजनक नतिजा पाउनु हुनेछ’, भुसालले भनिन् ।
बैठकले विभिन्न माओवादी धाराबाट आएका नेता कार्यकर्ताको संगठनात्मक व्यवस्थापन गर्न बरिष्ठ नेता रामबहादुर थापाको नेतृत्वमा एउटा कार्यदल गठन गरेको छ । कार्यदलमा नेताहरू टोपबहादुर रायमाझी, गिरिराजमणि पोखरेल, मातृका यादव, शक्ति बस्नेत, लेखराज भट्ट, साबित्रीकुमार काफ्ले, देवेन्द्र पौडेल र सुनिल मानन्धर रहेका छन् ।
बैठकले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा भएको अन्तर्घातको छानविन गर्न नेता अमिक शेरचनको नेतृत्वमा छानविन समिति बनाएको छ । समितिमा लीलामणि पोखरेल, गणेश शाह, हितराज पाण्डे र रेखा शर्मा सदस्य रहेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग

गृहमन्त्रीका एक वर्ष : नीतिगत र कानूनी सुधारमा व्यापकता
शेरबहादुर सिंह
कांग्रेसको केन्द्रीय समितिबाट भएका निर्णयहरू
शेरबहादुर देउवा, सभापति, कांग्रेस
विनोदजी उमेशसँग तपाईको तुलनै हुँदैन, चन्दा लिए वापत तपाईलाई नेता मान्न कोही बाध्य छैन
गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस
यसमा तपाइको मत