उपेन्द्रसँग मिलेर सरकार बनाउन लागेको एमालेद्वारा स्वीकार

काठमाडौं । एमालेका नेता सुवासचन्द्र नेम्वाङले प्रक्रियामार्फत माओवादी केन्द्रसँग पार्टी एकता हुने बताएका छन् ।

नेपाली रेडियो नेटवर्कमा पत्रकार ऋषि धमलासँग मंगलबार बिहान कुरा गर्दै नेम्वाङले एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरणको प्रक्रिया छिटै सुरु हुने बताए । ‘एमाले र माओवादीबीच पार्टी एकीकरण हुन्छ’, उनले भने, ‘प्रक्रियाबाटै पद र जिम्मेवारी बाँडफाँड हुन्छ ।’

एकीकृत पार्टीको अध्यक्ष र प्रधानमन्त्री को हुन्छ भनेर सोधिएको प्रश्नको घुमाउरो जवाफमा एमालेका नेता नेम्वाङले केपी ओली नै अध्यक्ष र प्रधानमन्त्री हुने बताए । ‘अहिले भन्नेवित्तिकै सबै पद बाँड्न मिल्दैन । त्यसको प्रक्रिया हुन्छ । प्रक्रियामा जाँदासम्म बाम गठबन्धनको सबैभन्दा ठूलो दलको व्यक्तिले नै जिम्मेवारी लिन्छ’, उनले भने ।

एमालेका नेता नेम्वाङले संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवसँग सरकार गठनका विषयमा कुराकानी भइरहेको बताए ।

‘उपेन्द्र यादवसँग सरकार गठनका बारेमा कुरा गरेको आंशिक सत्य हो’, उनले भने, ‘बाम गठबन्धनका भावी प्रधानमन्त्री केपी ओलीले सबैसँग राजनीतिक परामर्श गरिरहनु भएको छ । सरकार गठनमा ओलीजीले प्रयास गरिरहनुभएको छ । यसरी छलफल गर्नु नराम्रो हो र ?’

माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले एउटै व्यक्ति प्रधानमन्त्री र एकीकृत पार्टीको अध्यक्ष बन्न नसक्ने बताए । उनले पार्टी एकीकरण हुँदा सबैलाई मिलाएर जानुपर्ने उल्लेख गरे ।

पार्टी एकीकरण र पद बाँडफाँडका विषयमा एमालेका महासचिव ईश्वर पोख्रेलले दिएको अभिव्यक्ति गम्भीर खालको रहेको भन्दै नेता पौडेलले भने, ‘एमालेका महासचिव ईश्वर पोख्रेलले दिनुभएको अभिव्यक्तिका विषयमा हाम्रो पार्टीभित्र छलफल भएको छ । गम्भीर खालको छ । एमालेका केही नेताहरू पार्टी एकता भाँड्न लागेका छन् । ईश्वर पोखरेलले अतिरञ्जित अभिव्यक्ति दिनु हुँदैन थियो ।’

सरकार गठनका विषयमा सोधिएको प्रश्नको जवाफमा माओवादी नेता पौडेलले बाम गठबन्धनको नेतृत्वमा सरकार बन्ने बताए । उपेन्द्र यादवसँग केपी ओलीले गरेको कुराकानी र छलफलहरूका विषयमा भने आशंका जनाए । ‘बाम गठबन्धनले सरकार गठन गर्ने हो । त्यसपछि पार्टी एकीकरण गर्ने म्याण्डेट आएको छ’, उनले भने, ‘जनताको मतभन्दा बाहिर कोही पनि जान मिल्दैन ।’

Published : Tuesday, 2017 December 26, 10:01 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया