‘किशुनजी’को कार्यक्रममा ओली प्रमुख अतिथि, देउवालाई बोलाइएन

काठमाडौं । नेपाली कांग्रेसका पूर्व सभापति सन्तनेता कृष्णप्रसाद भट्टराई ‘किसुनजी’ को ९४ औं जन्मजयन्ती शनिबार मनाइँदैछ ।

स्वर्गीय किसुनजीको सादगी जीवनबाट मन्त्रमुग्ध भएकाहरूलाई त्यही जीवनशैलीका कारण सम्झन्छन् ।

नेपाली राजनीतिमा कुर्सीमा पुगेपछि जतिसक्यो राज्यको दोहन गर्नुपर्छ भन्ने सिद्धान्त विपरित किसुनजीले प्रधानमन्त्री भएका बेलामा आफूसंग भएको ट्यांका र सुराही लिएर गएका थिए । फर्किँदा पनि तिनै सामान लिएर फर्किएका थिए ।

तिनै किसुनजीको ९४ वर्षअघि पुस ८ गते जन्म भएको थियो । किसुनजी हामीबीच छैनन् । तर, उनलाई नेपाली राजनीतिक वृत्तमा भिन्नै तरिकाले सम्झना गरिन्छ ।

यसपटकको जन्मजयन्ती कार्यक्रम एमालेका अध्यक्ष केपी ओलीको उपस्थितिमा हुने सन्तनेता कृष्णप्रसाद भट्टराई प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानकी अमिता कपालीले ओली प्रमुख अतिथि भएको बताइन् ।

कांग्रेसका नेताको जन्मजयन्तीमा कांग्रेसका कोही नेता प्रमुख अतिथि हुन सक्थे कि ? भन्ने जिज्ञासामा उनले ‘त्यस्तै पर्‍यो भनेर टारिन् ।

कपालीले कांग्रेसका नेताहरूलाई पनि बोलाएको बताइन् । उनले भनिन्, ‘निम्तो पठाएकी छु उनीहरूलाई, आउलान् नि को–को आउने हुन् उनीहरूको कुरा ।’

कार्यक्रम शनिबार दिउँसो १ बजे भट्टराई आश्रम बाडेगाउँ ललितपुरमा हुँदैछ ।

किसुनजी काँग्रेसजनका आस्था हुन् । प्रतिष्ठानले गर्ने व्यवहार भने बुझिनसक्नु भएको एक कांग्रेस नेताले बताएका छन् । कपालीले कांग्रेस पार्टी नेतृत्व किसुनजीको सम्मान गर्नसमेत चुकेको बताइन् ।

गिरिजाप्रसाद कोइराला पार्टी सभापति हुँदा यथोचित सम्मान नपाएको भन्दै शेरबहादुर देउवालाई कांग्रेस प्रजातान्त्रिक खोल्न किसुनजीले नै सघाएका थिए । अहिले देउवा मुलुकको प्रधानमन्त्री एवं कांग्रेसको सभापति छन् ।

Published : Friday, 2017 December 22, 10:24 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया