नवराज सिलवालले सभासदहरूको सामूहिक हत्या योजना बनाएको खुलासा (प्रमाणसहित)

काठमाडौं । २०६५ चैत ४ गते प्रहरीले काठमाडौंको सिफलबाट ३ जनालाई पक्राउ गर्‍यो । ‘टिङ्कु’ भनिने गणेश सिंह, ‘विक्की भनिने अनिल बानियाँ र मुकेश दास त्यतिबेला पक्राउ परेका थिए ।

प्रहरीका अनुसार उनीहरू छोटा राजन समूहसम्बद्ध थिए । छोटा राजन एक अण्डरवर्ल्ड डन हुन् । जसलाई भारतले सन् २०१५ अक्टुबर २५ तारिखमा इण्डानेसियाबाट पक्राउ गरिएको थियो ।

पक्राउ पर्नेमध्येका टिङ्कु भनिने गणेश सिंहले घर सप्तरी जिल्लाको सीमावर्ती क्षेत्रमा रहेको बताए पनि उनी भारतीय नागरिक हुन् । उनी छोटा राजन समूहका ‘सार्पसुटर’ हुन् । पक्राउ पर्ने अन्य दुईमध्ये बानियाँ सर्लाहीको अचलागढ–२ र दास सप्तरीको राजविराज–१ का निवासी हुन् । प्रहरीले उनीहरुको साथबाट अत्याधुनिक हातहतियार बरामद गरेको थियो ।

उनीहरूको साथबाट एसएमजी (सर्ट मेसिन गन) २ थान, साइलेन्सर जोडिएको एके–४७ राइफल १ थान र कम्पनी निर्मित भारतीय पेस्तोल ४ थानका साथै गोली भरिएका म्यागजिन १४ जान बरामद गरिएको थियो ।

महानगरीय प्रहरी आयुक्तको कार्यालयका तत्कालीन निमित्त प्रमुख डीआइजी भरत जिसीका अनुसार राजधानीमा त्यत्तिका गोली र त्यस्तो अत्याधुनिक हतियारसहित अपराधिक गिरोह पक्राउ परेको त्यो नै पहिलो घटना हो ।

ती हतियारहरू तत्कालीन संविधानसभा भवनमा ठूलै आक्रमण गर्न काठमाडौं भित्र्याइएका थिए । सञ्चार उद्यमी जमिम शाहको हत्याकाण्डपछि प्रहरीले पनि ती हतियार भित्र्याउनुको तथ्य सार्वजनिक गरेको थियो ।

सो अपराधिक गिरोहले संविधानसभालाई लक्षित गरी राजनीतिक हत्याकाण्ड मच्चाउने तयारी गरेको थियो । त्यो गिरोहले संविधानसभा वा व्यवस्थापिका संसदको बैठक चल्ने कुनै दिन छानेर सभासद् प्रवेश गर्ने पश्चिम गेटमा अन्धाधुन्ध रुपमा गोली चलाएर एक दर्जनभन्दा बढी सभासदका सामूहिक हत्या गर्ने योजना बनाएको थियो ।

यो घटना त्यतिबेला गराउन खोजिएको थियो, जतिबेला प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र तत्कालीन प्रधानसेनापति रुक्माङ्गद कटवालबीच शक्तिसंघर्ष सुरु भइसकेको थियो ।

प्रधानमन्त्रीले पार्टीभित्रैबाट कटवालालाई बर्खास्त गरिनुपर्ने भन्दै दवाव खेपीरहेका थिए भने कटवाल प्रधानमन्त्री प्रचण्डलाई असफल पार्ने योजनामा थिए । कटवालको योजनामा बाहिरबाट प्रमुख सहयोगीको भूमिका दक्षिण छिमेकी भारत थियो भने आन्तरिक रुपमा नेपाल प्रहरीका तत्कालीन एसपी नवराज सिलवाल थिए ।

भारतीय सहयोगमै ती हतियारहरूको व्यवस्था पनि गरिएको थियो । काठमाडौंसम्म हतियार भित्र्याउने काममा संलग्न नवराज सिलवाल त्यतिबेला महानगरीय प्रहरी परिसर काठमाडौंमामा थिए, प्रहरी उपरीक्षक (एसपी)को दर्जामा ।

अहिले उनै नवराज सिलवाललाई नेकपा (एमाले)ले ललितपुर क्षेत्र नं. १ बाट प्रतिनिधी सभाका लागि टिकट दिएको छ । सिलवाललाई कम्युनिष्ट पार्टीहरूको उम्मेदवारका रुपमा नेकपा (माओवादी केन्द्र)ले पनि साथ दिएको छ । यस्ता व्यक्तिसँग एमाले र माओवादी केन्द्रका ललितपुरका मतदाताहरूले के अपेक्षा राखेका होलान ?

उनै सिलवालले आर्थिक प्रलोभनमा पारेर एमालेका अध्यक्ष केपी ओलीसँग टिकट लिएपछि ललितपुरमा बबण्ड भएको छ । सिलवालको प्रचारमा एमाले ललितपुरका नेताहरू हिँड्न छाडेका छन् । सिलवालको प्रचारमा अख्तियारले डामेका र भगौडा पुलिसहरूको हुलहुज्जत हुने गरेको एक नेताले बताए ।

नेपाली नेताको हत्या गर्न भारतीय सीमाबाट नेपाल भित्र्याइएका ती हतियार थानकोट हुँदै काठमाडौं भित्र्याउने काममा नवराज सिलवाल सक्रियतापूर्वक लागेका थिए ।

तत्कालीन सैनिक नेतृत्व ‘रुक्माङ्गद कटवाल’को आडमा काठमाडौं भित्र्याउन लागिएका ती हतियार थानकोटमा बिना चेकजाँच काठमाडौं पुगेका थिए, नवराज सिलवालकै सहयोगमा । ‘अनुसन्धानमा संलग्न उच्च प्रहरी स्रोतका अनुसार तत्कालीन सैनिक नेतृत्वनिकट त्यस बेलाका महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमुख एसपी नवराज सिलवालकै सहयोगमा ती हतियार थानकोटस्थित प्रहरी सुरक्षा छिचोल्दै राजधानी भित्र्याइएका थिए ।

(पत्रकार सरोजराज अधिकारीको पुस्तक ‘चक्रव्यूहमा चन्द्रसूर्य’ पुस्तकबाट साभार गरिएको)

Published : Saturday, 2017 November 18, 10:12 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया