मतदातासामु यस्तो रुपमा आइन् आरजु, सबै परे ‘छक्क’

धनगढी । ‘म तपाईहरूका लागि नयाँ व्यक्ति होइन । अपरिचित होइन । मेरो माइतीले कन्यादान गरेर यही क्षेत्रका तपाइका छोरा, भतिजा, दाजुभाई शेरबहादुर देउवालाई दिएपछि म कहाँ जाने ? यो भन्दा अरू ठाउँ कहाँ हुनसक्छ मेरो लागि ?’

कांग्रेस नेतृ तथा प्रधानमन्त्री पत्नी आरजु राणा देउवा सोमबार धनगढीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै मतदाताबीच आफू सुदूरपश्चिमवासीका लागि नयाँ व्यक्ति नभएको प्रष्ट्याउँदै थिइन् । पार्टीभित्रै तथा पार्टी बाहिरका मान्छेहरूले चुनाव जित्नका लागि आरजु सात नम्बर प्रदेश तथा धनगढी पुगेको विषयमा टिकाटिप्पणी गरिरहेका बेला उनले मतदाता सामू आफ्ना कुरा यसरी राखेकी हुन् ।

सुदूरपश्चिम आफ्नो जन्मथलो नभए पनि श्रीमानको जन्मथलो भएका कारण आफ्नो लागि योभन्दा उपयुक्त निर्वाचन क्षेत्र अरू नहुने तर्क पनि राणाको थियो ।

‘म तपाईंहरूकै दिदीबहिनी, छोरी बुहारी, भाउजु हो । तपाईंहरूको बढी सरोकार मेरा एजेण्डासँग हुनुपर्छ । मेरो कामसँग हुनुपर्छ । यस क्षेत्रको विकासका लागि मैले गर्नैपर्ने काम कर्तव्य के हो त्यसमा केन्द्रित हुनुपर्छ’, उनले मतादातालाई हल्लाका कुरामा विश्वास नगर्न आग्रह गर्दै भनिन् ।

आफूले अहिलेसम्म समग्र सुदूरपश्चिमको विकास र यहाँका पछाडि पारिएका महिला, आदिवासी जनजाति, दलित, गरिव जनताको सेवामै समय खर्चेको भन्दै राणाले बाँकी समय पनि यसै क्षेत्रका जनताको हितमा लागि पर्ने प्रतिवद्धता समेत गरिन् । ‘मलाई तपाईंहरूको सेवक बन्ने धोको छ । त्यसकै लागि मैले उम्मेदवारी दिएकी हुँ’, उनले मतदाता र कार्यकर्ता रिझ्याउँदै भनिन् ।

प्रदेश नं सातको महत्वपूर्ण मानिने कैलाली क्षेत्र नं ५ बाट नेपाली कांग्रेसका तर्फवाट उम्मेदवार बनेकी राणाले सोमबार मात्रै धनगढी उपमहानगरपालिकाको धुर्जन्ना, सिगाउँ, देवरीया, घुईयाघाट लगायतका ठाउँमा चुनावी सभालाई सम्बोधन गर्दै आफुलाई काम गर्ने अवसर दिन आग्रह गरिन् ।

थारु समुदायको बाहुल्यता रहेको उक्त क्षेत्रमा थारु महिलाको उत्पादन ‘ढकिया’ टाउकोमा राखेर भोट मागेकी आरजुले महिलाहरू प्रत्यक्षतर्फ चुनाव नै लड्न सक्दैनन् भन्ने सोच बिरुद्ध आफ्नो उम्मेदवारी भएको पनि बताइन् । उनले मुखै छोपिने गरी टाउकोमा ढकिया बोकेर हिड्दा सबैको आर्कषणको केन्द्र बिन्दु बनेकी थिइन् ।

अहिलेको चुनाव स्वतन्त्रता पक्षधर र स्वतन्त्रता बिरोधी बिचको छनौट भएको उनको भनाइ थियो । उनले भनिन्, ‘नेपालीहरू स्वतन्त्रता र शान्तिका पक्षधर हुन् । त्यसैले कम्यूनिष्ट अतिवादलाई जिताउदैनन् ।’

आफूले यस क्षेत्रको विकासका लागि सामाजिक क्षेत्रबाट पनि धेरै काम गरेको र गरिरहने बताउँदै राणाले भनिन्, ‘यहाँको प्रजनन् स्वास्थ्यको अवस्था सुधारका लागि मैले काम गरिरहेकी थिएँ । यस क्षेत्रका महिलाको प्रतिनिधीत्वका लागि पनि प्रत्यक्ष तर्फको चुनाव लडेकी हुँ ।’

लोकतन्त्र स्थापनापछिको संविधानले महिलाका थुप्रै अधिकार प्रत्यायोजन गरेको बताउदै राणले भनिन्, ‘अहिले लोकतान्त्रिक शक्तिले हारे महिलाले प्राप्त गरेका अधिकार समेत गुम्ने खतरा छ ।’ उनले आफ्नो मुख्य चुनावी मुद्दा आर्थिक समृद्धि र विकास भएको पनि बताएकी छन् ।

Published : Tuesday, 2017 November 7, 6:43 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया