भीमफेदी दुर्घटनामा १३ यात्रुको मृत्यु, छानविन समिति गठन
हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा भएको यात्रुवाहक विद्युतीय माइक्रोबस (ईभी) दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुगेको छ । ज्यान गुमाउनेमध्ये ११ जनाको पहिचान खुलेको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार दुर्घटनामा ज्यान गुमाउनेमा सर्लाहीको कबिलासी गाउँपालिका–८ का ३० वर्षीय चालक रविशंकर कुमार मण्डलसहित सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरटोलका १० जनाको पहिचान खुलेको हो ।
मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा भएको माइक्रोबस दुर्घटनामा ज्यान गुमाउने ११ जनाकै पहिचान खुलेको छ । दुर्घटनामा ६ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार दुर्घटनामा ज्यान गुमाउनेमा सर्लाहीको कबिलासी गाउँपालिका–८ का ३० वर्षीय चालक रविशंकर कुमार मण्डलसहित सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरटोलका १० जना रहेका छन् ।
अरु मृतकमा २६ वर्षीय विकेश यादव, ३५ वर्षीया पुनम यादव, ७ वर्षीया दीक्षा यादव, ५ वर्षीया दीपिका यादव, १० वर्षीया अनुकुमारी यादव, ३५ वर्षीय गुड्डु यादव, ३० वर्षीया गायत्री देवी, २५ वर्षीय रामदुलार यादव, २५ वर्षीय सुबोध यादव र १५ वर्षीय रोहन यादव रहेका छन् ।
घाइतेमध्ये ३४ वर्षीय मुकेश यादव, ५ वर्षीय सक्षमकुमार यादव र २६ वर्षीय देवेन्द्र राय उपचारपछि डिस्चार्ज भएका छन् । तीन वर्षीय सुजन यादव र १४ महिनाका सुदिप यादवलाई थप उपचारका लागि काठमाडौँस्थित मेडिसिटी अस्पताल र ३१ वर्षीय बेचु भनिने देवेन्द्र रायलाई भरतपुरस्थित मनकामना अस्पताल रिफर गरिएको प्रहरीले जनाएको छ ।
काठमाडौँबाट सर्लाहीतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ ज ०८८० नम्बरको विद्युतीय माइक्रोबस बिहीबार बिहान करिब ५ः४५ बजे भीमफेदी–कुलेखानी–काठमाडौँ सडकखण्डअन्तर्गत चिसापानीगढीमा सडकबाट खसेर दुर्घटना भएको थियो । गाडीमा चालकसहित १४ जना सवार रहेको प्रारम्भिक विवरणमा उल्लेख छ ।
दुर्घटनालगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली उद्धारमा खटिएको थियो । घटनास्थलमा थप खोज तथा उद्धार कार्यसमेत गरिएको प्रहरीले जनाएको छ ।
यसैबीच, मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानीगढीमा भएको यात्रुबाहक विद्युतीय गाडी (इभी) दुर्घटनाको छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरिएको छ ।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीका अनुसार सहायक प्रमुख जिल्ला अधिकारी शेषकान्त पौडेलको संयोजकत्वमा गठित समितिले दुर्घटनाको कारण पहिचान गरी एक साताभित्र प्रतिवेदन पेस गर्नेछ ।
समितिमा जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक रमेश विष्ट, प्रहरी निरीक्षक उमाशङ्कर प्रसाद, प्रदेशको पूर्वाधार विकास कार्यालयका एक इन्जिनियर र बागमती प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयका कानून अधिकृत सदस्य छन् ।
प्रजिअ अधिकारीका अनुसार समितिले सवारी साधनको क्षमताभन्दा बढी यात्रु राखिएको वा नराखिएको, रूट इजाजत, चालकको अवस्था तथा सडकको भौतिक अवस्थाबारे छानबिन गर्नेछ । आगामी दिनमा दुर्घटना न्यूनीकरणका लागि सम्बन्धित निकायले अपनाउनुपर्ने उपाय प्रतिवेदनमा समेटिनेछ ।
भीमफेदी–देउराली सडकखण्डमा पछिल्लो १३ महिनामा तीनवटा ठूला दुर्घटना भएको उल्लेख गर्दै उनले सडक सुरक्षामा तत्काल सुधार आवश्यक रहेको बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया