गुल्मी कांग्रेसको जिल्ला अधिवेशन सम्पन्न, सभापतिमा वेदबहादुर थापा निर्विरोध निर्वाचित
तम्घास । नेपाली कांग्रेसको नियमित १५औँ महाधिवेशनअन्तर्गत गुल्मी जिल्ला अधिवेशनबाट सभापतिमा वेदबहादुर थापा मगर सर्वसम्मत निर्वाचि भएका छन् ।
शुक्रबार तम्घासमा सम्पन्न भएको अधिवेशनले मगरलाई जिल्ला सभापतिमा निर्विरोध निर्वाचित गरेको हो । सचिवमा रविन्द्र घिमिरे सर्वसम्मत निर्वाचित भएका छन् ।
अधिवेशनबाट क्षेत्र नम्बर १ को क्षेत्रीय सभापतिमा मार्कण्ड भण्डारी र क्षेत्र नम्बर २ को क्षेत्रीय सभापतिमा कृष्ण थापा निर्वाचित भएका छन् ।
गुल्मी क्षेत्र नम्बर १ प्रदेश सभा निर्वाचन क्षेत्र नं. २ को सभापतिमा जीवन ज्ञवाली तथा क्षेत्र नम्बर २ अन्तर्गत प्रदेशसभा क्षेत्र ‘१’ को सभापतिमा दर्शन थापा निर्वाचित भएका छन् ।
महाधिवेशन प्रतिनिधितर्फ क्षेत्र नम्बर १ बाट सुवर्ण ज्वारचन (कान्छी दिदी), वेदबहादुर थापा मगर, पृथबहादुर फौजदार, योगराज कँडेल शर्मा, झकबहादुर पुन, भरत बस्नेत र सुदर्शन गौतम लगायत निर्वाचित भएका छन् ।
क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसका पूर्व जिल्ला सभापति सुरेशचन्द्र भुसाल, ज्ञानबहादुर कार्की, पूर्ण केसी, रविन्द्र घिमिरे, मौसम भण्डारी, अधिवक्ता देवीप्रसाद रिजाल, ईभा घिमिरे र लक्ष्मी खड्काललगायत महाधिवेशन प्रतिनिधिमा चयन भएका छन् ।
जनजाति, दलित, मुस्लिमलगायतका समावेशी समूह (क्लस्टर) बाट महाधिवेशन प्रतिनिधि चयन गर्न भने बाँकी रहेको पूर्ण केसीले जानकारी दिएका छन् ।
अधिवेशनको उद्घाटन नेपाली कांग्रेस गुल्मीका ज्येष्ठ नेता ८५ वर्षीय ताराप्रसाद पाण्डेले गरेका छन् । अधिवेशनमा शेरबहादुर देउवा पक्षीय नेता तथा कार्यकर्ताहरूको उत्साहजनक उपस्थिति रहेको थियो ।
केन्द्रीय प्रतिनिधि डा. दामोदर भुसाल, ताराप्रसाद पाण्डे, पूर्व जिल्ला सभापति सुरेशचन्द्र भुसाल तथा पूर्व सांसद झकबहादुर पुनलगायतले विशेष अतिथिका रूपमा मन्तव्य राखेका थिए । अधिवेशनलाई योगराज कँडेल शर्माले स्वागत मन्तव्य, पूर्ण केसीले धन्यवाद मन्तव्य राखेका थिए । कार्यक्रम सञ्चालन रविन्द्र केसीले गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया