कांग्रेसको आधिकारिकता पाउन गगनको १८ करोड काण्डको छानविन गर्न माग
काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकतालाई लिएर निर्वाचन आयोग र सर्वोच्च अदालतमा भएको निर्णय प्रक्रियामा आर्थिक चलखेल भएको भन्दै पार्टीका प्रमुख भ्रातृ संस्थाहरूले गम्भीर आपत्ति जनाएका छन् ।
नेपाली कांग्रेस १५औँ नियमित महाधिवेशन अन्तर्गत नेपाल महिला संघ, नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल दलित संघ, नेपाल किसान महासंघ र नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघका अध्यक्षहरूले बुधबार संयुक्त रूपमा प्रेस विज्ञप्ति जारी गर्दै सार्वजनिक सञ्चार माध्यममा आएका त्यस्ता गम्भीर विषयप्रति ध्यानाकर्षण भएको जनाएका हुन् ।
विज्ञप्तिमा लोकतान्त्रिक आन्दोलनको धरोहर र विधिको शासनको पक्षमा निरन्तर संघर्षरत नेपाली कांग्रेस पार्टीको आधिकारिकतासम्बन्धी विषयमा निहित स्वार्थ समूहले आर्थिक लेनदेन गरी निर्णय प्रक्रियालाई प्रभावित पार्नु क्षम्य नहुने उल्लेख गरिएको छ ।
सरकारका जिम्मेवार निकायहरूलाई यस विषयमा सत्य, तथ्य र प्रमाणका आधारमा निष्पक्ष छानबिन गरी दोषीमाथि तुरुन्त कारबाहीको दायरामा ल्याउन जोडदार माग गरिएको छ ।
विज्ञप्तिमा नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी निर्वाचन आयोगको तत्कालीन निर्णय र त्यसपछि सर्वोच्च अदालतमा भएको न्यायिक निरूपणको प्रक्रियामा आर्थिक चलखेल गरी निर्णय प्रभावित पारिएको भन्ने समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ ।
लोकतान्त्रिक आन्दोलनको धरोहर तथा विधिको शासनका पक्षमा निरन्तर संघर्षरत नेपाली कांग्रेसको आधिकारिकता निर्धारणजस्तो संवेदनशील विषयमा निहित स्वार्थ समूहले आर्थिक लेनदेनमार्फत निर्णय प्रक्रियालाई प्रभावित पार्ने कार्य क्षम्य हुन नसक्ने उनीहरूको भनाइ छ ।
संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘यस्तो अवस्थामा सरकारका जिम्मेवार निकायहरूले सत्यतथ्य र प्रमाणका आधारमा छानबिन गरी दोषीलाई तुरुन्त कारबाहीको दायरामा ल्याउन जोडदार माग गर्दछौँ ।’
संस्थाहरूले आधिकारिकतासम्बन्धी निर्णय प्रक्रियामा आर्थिक चलखेल भएको भन्ने आरोपबारे निष्पक्ष छानबिन गर्न सरकारसँग माग समेत गरेका छन् ।


फेसबुकबाट तपाईको प्रतिक्रिया