सरकारद्वारा लुम्बिनीमा गैर बुद्धिस्ट व्यक्तिलाई सदस्य सचिवमा नियुक्त
काठमाडौं । लुम्बिनी विकास कोषको सदस्य सचिवमा सन्तोष पाण्डेय नियुक्त भएका छन् ।
मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले इन्जिनियर पृष्ठभूमि रहेका पाण्डेयलाई सदस्य सचिवको रूपमा जिम्मेवारी दिने निर्णय गरेको हो । सरकारले लुम्बिनी विकास कोषको सदस्य सचिवमा गैर बुद्धिस्ट व्यक्तिलाई नियुक्त गरेर सबैलाई चकित तुल्याइदिएको छ । लुम्बिनी जस्तो स्थानमा बौद्ध धर्मसँग जोडिएका व्यक्तिलाई नै सदस्य सचिव पदमा नियुक्त गर्नुपर्ने बौद्ध धर्मालम्बीहरूको अवाज उठ्न लागेको छ ।
सरकारले गत वैशाख १९ गते जारी गरेको ‘सार्वजनिक पदाधिकारीको विशेष व्यवस्था गर्न बनेको अध्यादेश, २०८३’ राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि अन्य निकायका पदाधिकारीसँगै लुम्बिनी विकास कोषका पदाधिकारी पनि पदमुक्त भएका थिए । त्यसपछि गत असारमा कोषका विभिन्न १२ पदका लागि आवेदन माग गरिएको थियो । जसमध्ये सदस्य सचिवका लागि २०९ जनाले आवेदन दिएका थिए । सरकारले आवेदन माग गरे पनि आवेदन नदिएका पाण्डेयलाई सदस्य सचिव नियुक्त गरेको हो ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकाका स्थायी बासिन्दा पाण्डेय प्रधानमन्त्री बालेन्द्र शाह काठमाडौं महानगरपालिकाको प्रमुख हुँदा देखिनै अति निकटस्थ भएर सचिवालयमा काम गरिरहेका थिए ।
सरकारले केही दिनअघि मात्रै लुम्बिनी विकास कोषको उपाध्यक्षमा गायिका समेत रहेकी आनि छोईङ डोल्मालाई नियुक्त गरेको थियो । आनीको नियुक्ति भने विवादमा परेको छ ।
आनीलाई उपाध्यक्ष नियुक्त गरेसँगै लुम्बिनी बचाउ महाअभियानका अभियन्ता लगायत स्थानीयले आन्दोलन गरेका छन् । आनीविरूद्ध सम्पत्ति शुद्धीकरण र नागरिकताको मुद्दा विचाराधीन रहेको भन्दै सरकारको चौतर्फी आलोचना भएको छ ।
पूर्वाधार विकास, संरचनागत इन्जिनियरिङ तथा सहरी व्यवस्थापनका क्षेत्रमा व्यावसायिक अनुभव हासिल गरेका पाण्डेय हाल पूर्वाधार विकास मन्त्री सुनिल लम्सालका प्रमुख सल्लाहकारका रूपमा कार्यरत थिए ।
पाण्डेयले काठमाडौंको एड्भान्स्ड कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्टबाट सिभिल इन्जिनियरिङमा स्नातक तथा भारतको विश्वेश्वरैया टेक्नोलोजिकल युनिभर्सिटीबाट स्ट्रक्चरल इन्जिनियरिङमा स्नातकोत्तर गरेका छन् ।
पाण्डेयले यसअघि काठमाडौं महानगरपालिका, बुटवल उपमहानगरपालिका र तिलोत्तमा नगरपालिकामा संरचनागत इन्जिनियरका रूपमा काम गरिसकेका छन् ।
लुम्बिनी विकास कोषको जिम्मेवारी भने परम्परागत अर्थमा भौतिक संरचना निर्माणमा मात्र सीमित छैन । गौतम बुद्धको जन्मस्थल लुम्बिनीसहित कपिलवस्तुको तिलौराकोट, देवदह र रामग्रामजस्ता ऐतिहासिक तथा पुरातात्त्विक सम्पदाको संरक्षण, विकास र अन्तर्राष्ट्रिय पहिचान अभिवृद्धि गर्नु कोषको प्रमुख दायित्व हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया