रेखा, प्रियंका, वर्षा, अञ्जु, मिलन, अरुणिमा, रिमा पनि डिभोर्सी हुन्, सधैँ विवादमा एलिना किन ?
सन्तोष देउजा, स्वतन्त्र पत्रकार
रेखा थापा, प्रियंका कार्की, वर्षा सिवाकोटी, अञ्जु पन्त, मिलन अमात्य, अरुणिमा लम्साल, रिमा विश्वकर्मा सबै नेपाली सेलिब्रेटीहरू डिभोर्सी हुन् ।
डिभोर्सपछि धेरैजसोले पुनर्विवाह गरे । कतिपयले एकल जीवन बिताइरहेका छन् । तर, जीवनमा केहीन केही प्रगति गरिरहेकै छन् । उनीहरूका विगतबारे खासै धेरै चर्चा गरिँदैन ।
तर, अर्की एकजना गायिका एलिना चौहान यसमा अपवादमा परिरहेकी छन् । श्रीमानसँग सम्बन्धविच्छेदपछि नेपाल फर्किएर गायन क्षेत्रमै संघर्ष गरिरहेकी छिन् । व्यवसायमा हात हालेकी छिन् । तर, पनि उनलाई उनका कर्मका अगाडि विगत तेस्र्याएर छोपिदिने गरिन्छ ।
उनका बिर्सनै नसकिने केही चर्चित विवादहरू पर्वतमा साउन्ड टेक्निसियनसँग स्टेजमै विवाद, अमेरिका सांगीतिक टुरको विवाद, गायिका कला लम्सालसँग ‘सिक्री’ विवाद, रुकुममा महोत्सव आयोजक डिल्ली परियारसँग विवाद, रवि लामिछानेलाई चिन्दिनँ भनेर दिएको अन्तर्वार्ता विवाद, ‘किड्नी किन्ने हैसियत’ सम्बन्धी अभिव्यक्तिको विवाद आदि हुन् ।
निरन्तर विवादपछि आफूलाई तुच्छ कमेन्ट गर्नेहरूलाई उनै गायिका चौहानले सामाजिक सञ्जालमा सार्वजनिक गरेर प्रहरी खोरसम्म पु¥याइन् । त्यो विषय पनि चर्चामा रह्यो ।
उनका पूर्वपति मौन बस्दा पनि सम्बन्धविच्छेदलगायत सबैखाले विवादमा गायिका चौहान आफैँले अन्तर्वार्ता दिँदै हिँड्ने र इन्टरटेन गर्नुको कारण पनि विषयले ठूलो रूप लिँदै तन्किने गर्थ्यो ।
यसरी आफ्ना प्रतिभा र कला कर्मले चर्चामा हुनुपर्ने कलाकारको विवादास्पद छवि बन्न पुग्यो ? यसका पछाडि चौहानको मुख्य रुपमा व्यवस्थापन र मिडिया ह्यान्डलिङ गतिलो नहुनु हो । अथवा सबैथोक मलाई थाहा छ, म सक्छु भन्ने भ्रम हुनु हो ।
निरन्तर विवादमा रहेकी एकजना कलाकार एक्कासि, ‘अब म विवादमा आउँदिनँ, अब म काम मात्रै गर्छु, मलाई बाँच्न देऊ’ भन्दै व्यावसायिक यात्रा शुरु गरेकी थिइन् ।
त्यहाँ पनि घरबेटीसँग बलियोसँग सम्झौता नगरेका कारण पहिलो गाँसमै ढुङ्गा भेट्नुपरेको छ । यो दुःखद् हो ।
चौहानले जति पनि अप्ठ्याराहरू सामना गरिरहेकी छन्, ती उनका लागि सिकाइ पनि हुन् । गएराति ‘अब मलाई गरिखान देऊ, बाँच्न देऊ’ भन्दै पत्रकार साथीहरूलाई आरोपित गर्दै फेसबुकमा पोस्ट हालेकी रहेछिन् ।
यो ठीक छ । तर, अब ती गायिकालाई पनि अनुरोध छ कि आफ्ना विगतबारे सोधिने प्रश्नहरूको जवाफ नदिनुस्, त्यस्ता फोरमहरू बहिष्कार गर्नुस् । गायिका भएपछि गायनबाटै चर्चामा आउनुस् । अनावश्यक टीकाटिप्पणीलाई बढी इन्टरटेन नगर्नुस् । सधैँ तपाईंको राम्रो मात्र होस्, हुनुपर्छ ।
युट्युबर साथीहरूलाई पनि एउटा अनुरोध, कसैको सम्बन्धविच्छेद वा व्यक्तिगत जीवनसँग जोडिएका विषयलाई बारम्बार उचालेर कन्टेन्ट बनाउनुको सट्टा त्यसले सम्बन्धित व्यक्तिको व्यक्तिगत जीवनमा पार्न सक्ने प्रभावबारे पनि विचार गरिदिनुहोस् ।
आफ्नै चेलीबेटीको घर बिग्रिँदा उनी कुन मनोदशाबाट गुज्रिन सक्छिन् भन्ने संवेदनशीलतालाई पनि ख्याल गरिदिनुहोस् ।
(सन्तोष देउजाको फेसबुक वालबाट साभार)
बिचार/ब्लग
गगन थापा किन आलोचनाभन्दा माथि छन् ?
दिनेश सापकोटा

फेसबुकबाट तपाईको प्रतिक्रिया