गगन थापा किन आलोचनाभन्दा माथि छन् ?
दिनेश सापकोटा
१८ वर्ष पहिला विकिलिक्स (Wikileaks) मा यिनको नाम अमेरिकी दूतावासलाई सूचना दिने व्यक्तिको रुपमा आयो । लिक गर्ने पत्रकार जुलियन असान्जे वर्षौं अमेरिकाले खेदेको खेदै गरेर, मानसिक र शारीरिक यातना दिएर जिउँदै मरे सरह भए । संसारभर उनको पक्षमा आवाज उठ्यो । उनले सात वर्ष इक्युडेरको दूतावासमा नजरबन्दमा र पाँच वर्ष लन्डनको जेलमा बन्दी भएर बिताउनु पर्यो । तर, थापाको छानबिन र स्पष्टीकरणको के कुरा उनलाई उक्त विषयमा कसैले सार्वजनिक रूपमा प्रश्नसमेत सोधेको छैन । बरु त्यसपछि उनको राजनीतिक यात्रा थप उकालो लाग्यो । उनी केन्द्रीय सदस्य, सांसद, मन्त्री हुँदै महामन्त्री बने ।
एमसीसी बारे देशमा ठूलो विवाद भयो । तर उनी बोल्दै बोलेनन् । अन्तिममा बोल्नै पर्ने दबाब आएर हुन सक्छ उनले एमसीसी कम्युनिष्टहरूले गिजोलेको र यसलाई पास गर्नै पर्ने भन्दै त्यसको पक्षमा मुन्डन नै गर्न तयार भएको कुरा संसदमा गरे । त्यसपछि यिनको वास्तविक रूप अलिअलि मान्छेले चिनेका हुन् तर, पनि धेरै जसो दल र नेता एमसीसीमा मुछिएको भएर हुन सक्छ उक्त सन्दर्भमा समेत यिनका बारेमा खास प्रश्न उठेन ।
२०१९ मा उनी महत्वपूर्ण अमेरिकी रणनीतिक स्वार्थ बोकेको २१औँ शताब्दीका लागि विश्व नेतृत्व र सार्वजनिक नीति (Global Leadership and Public Policy for the 21st Century) नामक कार्यक्रममार्फत केही हप्ताको कोर्स लिन हार्वर्ड गए । यो आफ्नो भूराजनीतिक स्वार्थलाई अगाडि बढाउन अमेरिकाले आफ्ना एजेन्टहरुलाई प्रशिक्षित र प्रोमोट गर्ने कार्यक्रम हो । तर, उनको अमेरिकी कनेक्सनका बारेमा कसैले प्रश्न उठाएन ।
पछिल्लो समय ग्रे जोनको रिपोर्टमा उनको नाम अमेरिकी स्वार्थका लागि काम गर्ने व्यक्तिका रुपमा फेरि आयो । कांग्रेसमा उनको प्रभाव बढेकोप्रति अमेरिका कति उत्साहित छ त्यहाँ देख्न सकिन्छ । उक्त रिपोर्टमा नाम आएका रास्वपाका नेताहरू (बालेन्द्र, रवि, सागर, सुदन)को सोसल मिडियामा राम्रै आलोचना भयो । तर अहँ उनलाई कसैले प्रश्न उठाउँदैन ।
विशेष महाधिवेशन माग्ने अधिकार महाधिवेशन प्रतिनिधिमा भए पनि बोलाउने अधिकार केन्द्रीय समितिलाई भएको कुरा कांग्रेसको बिधानमा छ । तीन महिनाभित्र महाधिवेशन बोलाउनुपर्ने त भनिएको छ तर, नबोलाए के गर्ने भन्ने कुरा प्रष्ट छैन । जसका कारण विवाद उत्पन्न भएको देखिन्छ । थापाले विशेष महाधिवेशन बोलाए । र, उक्त अधिवेशनबाट जे एजेण्डा दिएका थिए त्यो चुनावबाट अस्वीकृत भयो । कांग्रेसले कहिल्यै नभोगेको हार भोग्यो । तर, उनले हारको दोष टिकटै नदिइएका शेरबहादुर र उनी पक्षीय नेताहरूलाई लगाए । कुनै नैतिक जिम्मेवारी लिएनन् । तर, पनि उनलाई प्रश्न कसैले उठाएन ।
कांग्रेस समाजवादी पार्टी थियो । स्याल प्रवृत्ति देखाएर कमजोर हुने बेलासम्म पार्टी कार्यकर्ता र आम जनतालाई ढाँटे । विशेष महाधिवेशनबाट सभापति बने पछि मात्रै उनको वैचारिक रूप देखिँदैछ । आफूलाई सामाजिक लोकतन्त्रवादी भन्दै छन् । उनले आफ्नो विचार बेलैमा किन भनेनन् ? किन झुक्काए ? किन आम कार्यकर्तालाई फसाए ? यो विषयमा पनि कसैले प्रश्न उठाउँदैन ।
रास्वपाको अधिवेशनमा गएर लोकतान्त्रिक अभ्यासै नभएको अधिवेशनको प्रशंसा गरे । रवि र बालेनबीच ‘सहमति’ भएको र उक्त सहमतिमा अधिवेशन टुंगिएको विषयलाई प्रशंसा गर्दै काङ्ग्रेसले पनि त्यसै गर्नु पर्ने दबाब रास्वपाबाट आएको भन्दै घोर अलोकतान्त्रिक कुरा गरे । रास्वपाको अधिवेशनको चाहिँ राम्रो भएन भनेर आलोचना भयो तर, अहँ किन यस्तो भनेको भनेर उनको आलोचना कसैले गरेन ।

उनी शक्तिमा आएपछि नेपाली कांग्रेसको तीव्र रास्वपाकरण भएको छ । यो सामाजिक लोकतन्त्र भन्ने सन्दर्भमा मात्रै नभएर राजनीतिक संस्कारमा नै देखिन्छ । रास्वपा कार्यकर्ताले जसरी पुराना पार्टी र तिनका नेताको दानवीकरण गर्छन् त्यसरी नै आफ्नो विचारमा असहमति राख्ने अर्को पक्षका नेता कार्यकर्तालाई थापाका समर्थकले दानवीकरण गर्छन् । जसरी रास्वपाको आलोचना गर्दा पुरानो पार्टीको ‘झोले’को आरोप यसका कुसंस्कारी समर्थकहरूबाट खेप्नुपर्छ त्यसरी नै थापाको आलोचना गर्दा ‘भ्रष्ट शेरबहादुर’को समर्थक भएको आरोप थापा समर्थकहरुबाट खेप्नु पर्छ । थापा शक्तिमा आउँदै गर्दा नेपाली कांग्रेसको आन्तरिक लोकतन्त्र र राजनीतिक संस्कारमा अकल्पनीय क्षयीकरण आएको छ । वास्तवमा कांग्रेसको रास्वपाको जस्तै फासीवादीकरण भइरहेको छ । तर, अहँ यिनलाई कसैले प्रश्न उठाउँदैन ।
प्रतिपक्षी दलका नेताका हिसाबले उनको भूमिका प्रश्नको घेरामा छ । सुकुम्बासीमाथिको दमनको सन्दर्भ होस् वा अहिलेको सरकारले गरिरहेका अन्य गैरसंवैधानिक कामहरूको सन्दर्भमा होस् यिनी चुपचाप छन् । वास्तवमा यिनी नेपाली कांग्रेसलाई ‘घन्टी कांग्रेस’ बनाउन तल्लिन् छन् । कांग्रेसलाई यिनले एक चरणको घन्टीकरण गरिसकेका पनि छन् । तर, प्रश्न यिनलाई कसैले गर्दैन !
उनले पार्टी मिलाउने होइन, उनीसँग असहमत सबैलाई आत्मसमर्पण गराउने नीति लिए । जसका कारण पार्टी फुट्दै छ । (दुईवटा अधिवेशन हुनु भनेको व्यावहारिक रुपमा फुट्नु हो ।) शेरबहादुर देउवा अब सभापति बन्न विधानले दिँदैन । उनको नेतृत्वमा अधिवेशन गर्दा के बिग्रिन्छ ? त्यसले पार्टी एकता गर्न सहज बनाउँछ । शेरबहादुरको पनि सम्मानजनक विदाई हुन्छ । तर, अहँ उनले यस्ता कुनै प्रश्नको सामना गर्नु परेको छैन । बरु उनका समर्थक, अमेरिकी सोसल मिडिया कम्पनी र कर्पोरेट मिडिया असहमत नेताहरुको चरित्र हत्या गर्नमा व्यस्त छ । शेरबहादुर र उनको समूहका व्यक्तिलाई सोलोडोलो भ्रष्टाचारी र निकम्मा साबित गर्न लागेको छ । तर, कसैले यो गलत भयो भनेर प्रश्न उठाउँदैन ।
अहिले केन्द्रीय समिति पहिलाको भन्दा दोब्बर बनाएर भद्दा बनाउने र आफ्ना पक्षका मान्छेलाई भरेर पार्टी पूर्ण रुपमा कब्जा गर्ने ‘लामिछाने मोडल’मा उनी जाँदै छन् । यो काम युवाको नाममा हुँदै छ । तर, अहँ यो विषयमा कसैले प्रश्न उठाउँदैन । मिडियाले त यसलाई पनि गगनले गरेको महान् काम भन्दै प्रचार गरिरहेको छ ।
सभापति त छँदैछन् त्यसमाथि उनी आफै सर्वशक्तिमान संयोजक भएर अधिवेशन गराउँदैछन् र उक्त अधिवेशनमा आफै सभापतिको उम्मेदवार बन्दै छन् । अधिवेशनमा सहभागी हुने प्रायजसो सबैले प्रचार गर्दै गर्दा उनको फोटो राखेर गरिरहेका छन् । यो उनीप्रतिको बफादारिता सार्वजनिक रुपमा अभिव्यक्त गर्नु हो । भन्नुको मतलब ‘घन्टी कांग्रेस’मा फरक विचारको गुन्जायसै छैन । तर, अहँ यो अधिवेशनको पारदर्शीताबारे कसैले प्रश्न उठाउँदैन ।
मलाई अचम्म लागेको चाँहि किन यिनि यसरी प्रश्नभन्दा माथि छन् ? के अरु नेताहरूलाई पनि यस्तै छुट हुन्छ ? मिडियामा रहेको उनको सिन्डिकेटले मात्रै हो कि यो अमेरिकी साम्राज्यको संरक्षणको कारण सम्भव भएको हो ? अरु नेताहरूले त चाहिने नचाहिने प्रश्नहरूको सामना गरिरहेको देख्छु ! यसको उत्तर खोज्न राम्रै अनुसन्धान गर्नुपर्ला अथवा कुर्नु पर्ला ।
तर, मलाई लाग्छ यिनका कतुर्तका लागि यि अहिले आलोचित नभए पनि, यिनको धूर्तता अहिलेलाई सफल जस्तो देखिएतापनि, कुनै दिन यो फुट्ने नै छ । बस्, यिनले देशप्रति ठूलो गद्दारी नगर्दै यो फुटे हुन्थ्यो । जनताले बेलैमा बुझे हुन्थ्यो ।
म आफै पूर्व काङ्ग्रेस र कुनै बेला उनलाई आशाको नजरले हेर्ने भएको नाताले उनको आलोचना गर्न चाहन्न । यो पोस्टसमेत राखौं नराखौं सोच्दा सोच्दै राखेको हुँ । पहिला पनि आफूलाई पटक-पटक रोकेको छु । तर, गर्नु पर्नेले प्रश्न नगरिदिँदा, मिडिया खासगरी सेतोपाटी, अनलाइन खबर, कान्तिपुर यिनको पक्षमा मर्यादा बिर्सेर बारम्बार लागेको देख्दा र उनको प्रशंसा मात्रै गरिरहँदा, म कुनै व्यक्तिको विरोधी होइन तर कथित रूपमा उनको विरोधी जस्तो भएर बोल्न बाध्य छु । किनकि उनी एक व्यक्ति मात्रै होइनन् । र, खासमा मलाई देश र लोकतन्त्रको चिन्ता छ ।
यदि नेपालमा अमेरिकी प्रभावलाई बुझ्नु छ र त्यसलाई निस्तेज गर्नु छ भने यिनलाई एक्स्पोज गर्न अत्यन्तै जरुरी छ । यिनलाई संरक्षण गर्ने मिडिया र महिमा मण्डल गर्ने सार्वजनिक बौद्धिक (पत्रकार, स्तम्भकार, विश्लेषक, नागरिक अभियन्ता) को मुकुण्डो ओडेका व्यक्तिहरूलाई पनि सँगसँगै एक्सपोज गर्न जरुरी छ ।
(दिनेश सापकोटाको फेसबुक वालबाट साभार)
बिचार/ब्लग
देशको राजनीति कठघरामा उभिएको छ : अब निर्मम समीक्षा आवश्यक छ
पं.ज्यो.रुद्रनाथ अधिकारी

फेसबुकबाट तपाईको प्रतिक्रिया