युवाको असन्तुष्टि सम्बोधन नगरे लोकतन्त्रको स्थायित्व संकटमा पर्छ : उपेन्द्र यादव

सियोल । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले विश्वभर युवापुस्तामा बढ्दै गएको राजनीतिक असन्तुष्टि र परम्परागत राजनीतिक नेतृत्वप्रतिको अविश्वासलाई समयमै सम्बोधन गर्न नसके लोकतन्त्रको स्थायित्व नै संकटमा पर्न सक्ने बताएका छन् ।

दक्षिण कोरियाको राजधानी सियोलमा नोभेम्बर ४ देखि ७ सम्म आयोजित एसियाली राजनीतिक दलहरूको अन्तर्राष्ट्रिय सम्मेलनको १३औँ महासभालाई शुक्रबार सम्बोधन गर्दै यादवले श्रीलङ्का, बङ्गलादेश, केन्या र नेपाललगायत देशमा देखिएका युवा आन्दोलनलाई राजनीतिक संस्थाप्रतिको घट्दो विश्वास, रोजगारी तथा अवसरको अभाव र राज्यसत्तामा जवाफदेहिताको मागसँग जोडेर व्याख्या गरेका हुन् ।

उनले युवा असन्तुष्टिलाई केवल राजनीतिक स्थायित्वका लागि चुनौतीका रूपमा नहेरी लोकतान्त्रिक प्रणालीभित्र सुधारको आवश्यकता औँल्याउने महत्वपूर्ण सन्देशका रूपमा बुझ्नुपर्ने बताए । युवाका आवाजलाई बेवास्ता गर्नुको सट्टा उनीहरूलाई नीति निर्माण, राजनीतिक दलको नेतृत्व र राज्यका निर्णय प्रक्रियामा सार्थक सहभागिता सुनिश्चित गर्नुपर्ने उनको धारणा थियो ।

‘जनताको आवाज सुन्ने नेतृत्व, परिणाम दिन सक्ने संस्था र जवाफदेही राजनीतिक दलबाट मात्रै जनविश्वास पुनःस्थापित गर्न सकिन्छ,’ यादवले भने ।

उनले लोकतन्त्रको सार निर्वाचनमा मात्र सीमित नरहेको स्पष्ट पार्दै समान अधिकार, सार्थक प्रतिनिधित्व, समावेशिता, सामाजिक न्याय र उत्तरदायी संस्थाहरूलाई लोकतन्त्रका आधारभूत स्तम्भका रूपमा व्याख्या गरे। राजनीतिक दलहरूले इमानदारी, संवाद, सहिष्णुता र जिम्मेवार प्रतिस्पर्धाको संस्कृतिलाई आत्मसात् गर्न सके मात्रै नागरिक र राजनीतिक नेतृत्वबीचको विश्वास बलियो हुने उनले बताए ।

अध्यक्ष यादवले वर्तमान विश्वव्यवस्था भूराजनीतिक प्रतिस्पर्धा, क्षेत्रीय द्वन्द्व, आर्थिक अनिश्चितता, जलवायु परिवर्तन, प्राविधिक रूपान्तरण र बढ्दो आर्थिक तथा सामाजिक असमानताजस्ता बहुआयामिक चुनौतीबाट गुज्रिरहेको उल्लेख गरेका छन् ।

Published : Friday, 2026 November 6, 12:56 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया