देशमा न्याय मरेको छैन भने सर्वोच्चबाट हामीले कांग्रेसको आधिकारिकता पाउँछौं : डा.महत

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले सर्वोच्च अदालतको पुनरावलोकन प्रक्रियाबाट आफूहरूले न्याय पाउने विश्वास व्यक्त गरेका छन् ।

शनिबार काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा नेपाली कांग्रेस १५औं नियमित महाधिवेशन अन्तर्गत काठमाडौं जिल्लाको अधिवेशनलाई सम्बोधन गर्दै डा.महतले पुनरावलोकन प्रक्रियाबाट न्याय पाइने बताए ।

सर्वोच्च अदालतले यसअघिको निर्णयमा कमीकमजोरी र त्रुटि रहेको स्वीकार गरेर पुनरावलोकनका लागि अनुमति दिएकाले देउवा समूहले पार्टीको आधिकारिकता पाउने नेता डा.महतले बताएका छन् ।

‘सर्वोच्च अदालतले पहिलाको निर्णयमा कमीकमजोरी थियो, त्रुटि थियो भनेर स्वीकार गरिसकेको अवस्थामा अवश्य पनि न्यायको विजय हुन्छ । न्यायको पक्षमा निर्णय हुन्छ भन्ने हामीलाई विश्वास छ,’ डा.महतले भने ।

‘अझै पनि यो देशमा न्याय मरेको छैन भने सर्वोच्च अदालतको रिभ्युमार्फत हामीले नै आधिकारिकता पाउँछौं,’ नेता डा.महतले भनेका छन् ।

डा.महतले कांग्रेसको विचार, सिद्धान्त र आदर्शलाई सभापति शेरबहादुर देउवाको नेतृत्वमा रहेको कांग्रेसलेमात्र बोकेको बताएका छन् । ‘जो भएता पनि मूल कुरो के हो भने नेपाली कांग्रेसको मुल आत्मा हामीमा छ । शेरबहादुर देउवाले नेतृत्व गरेको कांग्रेसमा छ,’ उनले भने, ‘नेपाली कांग्रेसको विचार, सिद्धान्त र आदर्शलाई हामीले बोकेका छौं । विधि, प्रक्रियालाई हामीले फलो गरेका छौं ।’

‘वीपी कोइरालाको प्रजातान्त्रिक समाजवादलाई उहाँहरूले छोडिसक्नुभयो । उहाँहरूले अहिले सामाजिक प्रजातन्त्र भन्न थाल्नुभएको छ,’ उनले भने, ‘रास्वपाको पनि सामाजिक प्रजातन्त्र, गगनजीको नेतृत्वको कांग्रेसको पनि सामाजिक प्रजातन्त्र । भने पछि उहाँहरूले विचार छोडिसक्नुभयो । नेपाली कांग्रेसभित्रको संस्कार छोडिसक्नुभयो ।’

Published : Saturday, 2026 November 7, 8:21 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया