साउदीका महावाणिज्यदूत पोखरेलद्वारा विचौलियाको काम गरेपछि बबाल, ठाउँमा पुग्यो उजुरी

काठमाडौं । द्विपक्षीयसम्बन्ध विस्तार गर्ने, आर्थिक लगानी भित्र्याउने र विदेशमा रहेका आफ्ना नागरिकको सुरक्षा गर्ने उदेश्यले सरकारले विभिन्न मुलुकमा आफ्ना नियोगहरू स्थापना गरेको हुन्छ ।

ती नियोगमा अर्बौं खर्च गरेर कर्मचारी खटाइएका हुन्छन् । ती कर्मचारी आर्थिक र नैतिक हिसावले स्वच्छ भएमा मात्र नियोग स्थापनाको वास्तविक लक्ष्य पूरा हुन्छ ।

त्यस्ता नियोगमा काम गर्ने राजदूत र कर्मचारी आर्थिक तथा अन्य चारित्रिक हिवासमा भ्रष्ट भएमा मुलुकको बदनाम हुन्छ । अहिले श्रम गन्तव्य भएका विभिन्न मुलुकमा राजदूत हुन र परराष्ट्र मन्त्रालयबाट सरुवा भई जान टेण्डर नै हाल्ने परिपाटी भएको व्यापक चर्चा छ ।

परराष्ट्रबाट जाने राजदूत र अन्य कर्मचारी अहिले युरोप, अमेरिका छाडेर खाडी मुलुक र मलेसिया जान विभिन्न शक्ति केन्द्र धाउने गरेको कर्मचारीहरूका बीच चर्चा छ ।

कुटनैतिक नियोगमा काम गर्ने कर्मचारीहरूको आफ्नो आचारसंहिता रहेको र त्यसको पालना नगर्ने कर्मचारीलाई विगतमा परराष्ट्र मन्त्रालयले कारबाही स्वरुप फिर्ता गर्ने गरेको उदाहरण प्रसस्त छन् ।

कुटनैतिक नियोगमा बसेर वैदेशिक रोजगारको दलाली, प्रधानमन्त्रीलाई उजुरी दिने तयारी

दुई वर्ष अगाडि नेपाली राजदूतावास अबुधावीमा कार्यरत उप–सचिव सागर फुयाँलको बारेमा मेनपावर व्यवसायीसँग मिलेर एउटा मेनपावरको डिमाण्ड अर्कोमा स्थान्तरण गर्ने गरेको समाचार व्यापक भएपछि समय नपुग्दै फुयाँललाई कारबाही स्वरुप परराष्ट्र मन्त्रालयले फिर्ता बोलाएको थियो ।

तत्कालीन समयमा साउदी अरबका राजदूत, कतारका राजदूत, अष्ट्रेलियाका राजदूतले पनि आचारसंहिता पालना नगर्दा समय नपुग्दै फिर्ता बोलाइएको थियो ।

श्रम गन्तव्य मुलुकमा नेपाली कामदारको हकहितको लागि काम गर्न भनेर सरकारले ५ हजारभन्दा बढि श्रमिक भएको मुलुकमा करोडौँ रुपियाँ खर्च गरेर श्रम सहचारी र श्रम काउन्सिलर राख्ने व्यवस्था गरेको छ । कुटनैतिक मर्यादाको लागि उनीहरूलाई नेपाली नियोगमा नै राख्ने गरेको छ ।

तर, दुर्भाग्य श्रमसम्बन्धी काम गर्न गएका उनीहरूलाई व्यक्तिगत लाभ लिने उद्देश्यले परराष्ट्रका कर्मचारीले कुनै अधिकार नदिने र श्रमसम्बन्धी काम पनि आफै गर्ने गरेका छन् ।

केही मुलुकमा परराष्ट्रका इमान्दार कर्मचारी भएकाले उनीहरूले श्रमसम्बन्धी काममा दख्खल नगरी सम्पूर्ण काम श्रम सहकारी र श्रम काउन्सिलरलाई दिएका छन् । जसमा कतार र यूएई पर्दछन् ।

राम्रो श्रम गन्तव्य मुलुक साउदी अरबमा श्रमसम्बन्धी सम्पूर्ण काम परराष्ट्र मन्त्रालयका कर्मचारीले गर्ने गरेका छन् । जसका कारण त्यस मुलुकमा मेनपावर व्यवसायिका मागपत्र एउटा कम्पनीबाट अर्कोमा दिलाइ व्यक्तिगत फाइदा लिने काम भइरहेको आरोप छ ।

यस कार्यमा अग्रपंक्तिमा छन्, जेद्धास्थित महावाणिज्य दूतावासका कार्यबाहक महावाणिज्यदूत शत्रुधन पोखरेल । पोखरेल त्यहाँ गएदेखि सिकायत आइरहेको छ । तर, परराष्ट्र मन्त्रालयले कुनै चासो नराखेकोले पोखरेलको मनोबल झन् बढेको छ । पोखरेलले अहिले त नेपालका शक्तिशाली मेनपावरका मागपत्र पनि अन्य मेनपावरमा दिलाउन थालेका छन् ।

केही समय अगाडि नेपालको इन्टरनेसनल मेनपावरमा आएको रेजाफुड भन्ने कम्पनीको मागपत्र नेपालकै अक्सफोर्ड भन्ने मेनपावरलाई दिलाइदिएका थिए ।

इन्टरनेसनल मेनपावरका सञ्चालक वाई.बी. राई पूर्वप्रधानमन्त्री माधवकुमार नेपालका नजिकका मान्छे हुन् । अहिलेका श्रममन्त्री कृष्णकुमार श्रेष्ठपनि माधव नेपालकै पार्टीका छन् ।

अक्सफोर्ड मेनपावरका सञ्चालक ईश्वर जिसी हुन् । जिसी उनै शुत्रुधन पोखरेलका जिल्लाबासी हुन् । जिसी माओवादी केन्द्र निकटका हुन् ।

यस्तो शक्तिशाली व्यवसायीको मागपत्र अन्यत्र दिलाउने पोखरेलले अन्य सामान्य व्यवसायीहरूलाई के गरेका होलान् ? चासोको विषय बनेको छ ।

त्यस्तै, चाइनिज सेरामी भन्ने कम्पनीको मागपत्र एसओएस मेनपावरबाट त्यही अक्सोफोर्ड र अर्को लुलु मेनपावरलाई पोखरेलले दिलाइदिएका छन् । एसओएसका सञ्चालक हेम गुरुङ शक्तिशाली व्यवसायी हुन् । हरेक पार्टीका उच्च नेताहरूसँग उनको घनिष्ट सम्बन्धी छ ।

लुलुका सञ्चालक शेषकान्त पुरी नेपाल प्रहरीका भगौडा हुन् । पुरीले आफूलाई नेपाली कांग्रेसको कार्यकर्ता भएको बताउँछन् । नेपाल प्रहरी, प्रशासन र न्यायालय हल्लाएर आफ्नै हातमा रहेको छ भनेर गफ लगाउने गर्दै आएको आरोप छ ।

यसरी कुटनैतिक नियोगमा बसेर लज्जास्पद कार्य गर्ने कर्मचारीलाई विगतमा कारबाही गर्ने परराष्ट्र मन्त्रालयले पोखरेललाई अहिलेसम्म कुनै कारबाही नहुनुले आम व्यवसायी आश्चर्य चकित बनेका छन् ।

यसैबीच, पीडितहरूले कार्यबाहक महावाणिज्यदूत पोखरेलको हर्कतविरुद्ध प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, परराष्ट्रमन्त्री डा.नारायण खड्का, श्रममन्त्री कृष्णकुमार श्रेष्ठ, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतमा उजुरी दिएको स्रोतले जनाएको छ ।

परराष्ट्र मन्त्रालयकी प्रवक्ता एवम् सह–सचिव सेवा लम्सालले पोखरेलका विषयमा सोधिएको जिज्ञासामा गम्भीर विषय आएको भन्दै सो विषयमा आफूले अध्ययन गर्ने प्रतिक्रिया दिएकी छिन् । ‘यो गम्भीर कुरा गर्नुभयो । यसबारेमा मैले बुझ्नुपर्छ’, उनले भनेकी छिन् । प्रवक्ता लम्सालले साउदी अरबको महावाणिज्य दूतावासका बारेमा आएका कुराबारेमा पछि थप कुरा गर्ने बताएकी छिन् ।

Published : Thursday, 2022 January 27, 10:05 am

फेसबुकबाट तपाईको प्रतिक्रिया