कांग्रेस नेता एवम् पूर्वसांसद जोशीको निधन, देउवाद्वारा श्रद्धाञ्जलि व्यक्त

काठमाडौं । नेपाली कांग्रेस कञ्चनपुरका पूर्व सभापति एवम् राष्ट्रिय सभाका पूर्व सांसद गंगादत्त जोशीको निधन भएको छ ।

नेपाली कांग्रेस ज्येष्ठ राजनीतिज्ञ सभाका सदस्य समेत रहेका जोशीको कञ्चनपुरको महेन्द्रनगरमा ८५ वर्षको उमेरमा हृदयघातबाट बुधबार निधन भएको कांग्रेसले जनाएको छ ।

कांग्रेसका नेता स्व.जोशी उच्च रक्तचापबाट पीडित थिए । स्व.जोशीले पार्टीको विभिन्न पदमा रहेर पार्टी संगठन निर्माण तथा नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेका थिए ।

स्व.जोशी नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल किसान संघको संस्थापक सदस्य एवं पूर्व उप–सभापति समेत रहेका थिए ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जोशीको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

‘नेपाली कांग्रेस कञ्चनपुरका पूर्व पार्टी सभापति एवं राष्ट्रिय सभाका पूर्व सांसद मेरा मित्र गंगादत्त जोशीको निधनको खबरले निकै मर्माहत र स्तब्ध भएको छु’, देउवाले भनेका छन्, ‘उहाँले लोकतन्त्र प्राप्तिको हरेक आन्दोलनमा खेलेको भूमिका निकै महत्वपूर्ण छ ।’

‘जोशीको निधनले नेपाली कांग्रेसले एक कर्मठ नेता गुमाएको छ’, देउवाले भने, ‘जोशीको निधनप्रति म गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछु ।’

देउवाले भने, ‘जोशीको आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा पार्टी र मेरो व्यक्तिगत तर्फबाट हार्दिक समवेदना व्यक्त गर्दछु ।’

Published : Wednesday, 2021 February 10, 4:27 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया