कांग्रेस नेता सिंहले उद्घाटन गरे बहुप्रतिरोधात्मक पुस्तकालय
नुवाकोट । नुवाकोट जिल्लाको बेलकोटगढि नगरपालिका–२ कुमरीमा श्री जनजागरण सामुदायिक पुस्तकालय स्रोत केन्द्रको उद्घाटन गरिएको छ । सुविधा सम्पन्न बहुप्रकोप प्रतिरोधात्मक तथा अपाङ्मैत्री पुस्तकालयको नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले उद्घाटन गरेका हुन् ।
स्थानीय समुदाय र रिड नेपालको सहकार्य तथा एएसबी मार्फत जर्मन टेलिकम एवम् एडिएचको सहयोगमा भूकम्प प्रतिरोधात्मक दुई तल्ले भवन निर्माण गरिएको हो । श्री जनजागरण सामुदायिक पुस्तकालय स्रोत केन्द्रका अध्यक्ष रामचन्द्र तिमल्सिनाले सबैको साथ र समर्थनमा भवन निर्माण सम्पन्न भएको बताए ।
विहीबार उद्घाटन गर्दै नेता सिंहले गाउँमा पुस्तकालय निर्माण गरेर उल्लेखनिय काम गरेको बताउँदै भवन निर्माणका लागि जग्गादाता र निर्माणमा सहयोग पुर्याउने सबैको प्रशंसा गरेका थिए । यस अघि रिड नेपालले काभ्रेको पनौती र पर्सामा स्थापना गरेको पुस्तकालयको समेत आफैले उद्घाटन गर्ने अवसर पाएको बताउँदै उनले स्थानीयबासीको माग अनुसार स्थापना भएको पुस्तकालयले ठूलो महत्व बोकेको दावी गरे ।
लौह पूरुष एव् पिता गणेशमान सिंहको जीवनसँग पनि नुवाकोटको सम्बन्ध रहेको भन्दै उनले नुवाकोटलाई आफूले कहिल्यै विर्सन नसक्ने पनि बताए । कार्यक्रममा बोल्दै उनले पुस्तकालयको मद्दतबाट ज्ञान बढाउन स्थानीयबासीलाई आग्रह गरे । स्थानीयबासीका लागि पुस्तकालय ज्ञानको स्रोत बनोस् भन्ने शुभकामना दिंदै उनले त्यसको संरक्षण र सम्वर्धमा ध्यान दिन समेत आग्रह गरे ।
कार्यक्रममा नेपाली कांग्रेस नुवाकोटका जिल्ला सभापति जगदीश नरसिंह केसीले दाता संस्थाहरूलाई धन्यवाद दिंदै पुस्तकालयमा भएको स्रोत र साधनको भरपुर उपयोग गरी त्यसबाट फाइदा लिन आग्रह गरे । गृहजिल्ला तथा आफ्नै क्षेत्रमा स्थापना भएको पुस्तकालयबाट सबैले सुविधा लिन सक्ने बताए । सधै नुवाकोटबासीको सुख दुःखमा साथ दिने बताउँदै उनले राजनीति आस्था जता भए पनि विकास निर्माणका काममा सबै मिलेर अगाडि बढ्नुपर्ने धारणा राखे ।
एएसबी एशिया कार्यक्रम संयोजक मार्टिन साराले २०७२ सालको भूकम्पले भत्काएको पुस्तकालय देखेर नयाँ बनाउन पहल गर्न उत्साह थपेको भन्दै आफूहरूले सहयोग गरेको बताए । पुस्तकालयले स्थानीय समुदायलाई प्रभावित पार्न सक्ने आफूले देखेको भन्दै उनले कुमरीको जनताको चाहना बुझेर नै पुस्तकालय निर्माणमा हतेमालो गरेको बताए ।
उनले सहयोग गर्नुहुने सबैलाई धन्यवाद समेत व्यक्त गरेका थिए । रिड नेपालले यस अघि काभ्रे, पर्सा, नुवाकोटलगायतका जिल्लाहरुमा ६७ वटा पुस्तकालय निर्माण गरिसकेको छ ।
नुवाकोट जिल्लाका राजनीतिकदल, विभिन्न संघ संस्थाका प्रतिनिधि, निर्वाचित जन प्रतिनिधी, समाजसेवी, बुद्धिजीवी, हस्यकलाकार राजु मास्टर र बल्छी ध्रुबे तथा स्थानीय जनसमुदायको उल्लेख्य सहभागिता रहेको थियो । उद्घाटन समारोहमा विभिन्न सांस्कृतिक कार्यक्रमको पनि आयोजना गरिएको थियो ।

नेपाल र एएसबीको आर्थिक तथा प्रविधिक सहयोगमा पुनःनिर्माण तथा समुदायमा आधारित समाबेशी विपद् जोखिम न्युनीकरण परियोजना अन्तर्गत निर्माण भएको पुस्तकालय नुवाकोट जिल्लाको मात्र नभई नेपालकै पहिलो अपांग मैत्री तथा बहुप्रकोप प्रतिरोधात्मक सामुदायिक पुस्तकालय हो ।
नयाँ भवनमा पुस्तकालय कक्ष, बाल कक्ष, महिला कक्ष, युवा कक्ष, सभा हल, सूचना तथा संचार प्रवधि कक्ष, विपद् जोखिम न्युनिकरण कक्ष, श्रव्य दृश्य कक्ष र कार्यलय कक्ष रहेका छन् । दुइ तल्ले पुस्तकालय भवनको हरेक कक्षमा सबै किसिमका अपांगता भएका व्यक्तिहरुको पहुँच रहने तथा प्रयोग गर्न सक्न रहेको छ ।
२ करोड ७५ लाख २७ हजार ५० रुपायाँ बजेट रहेको उक्त परियोजनामा १ करोड ७५ लाखमा उक्त पुस्तकालय निर्माण सम्पन्न भएको हो भने बाँकी रकमले कृषि, पशु स्वास्थ्य, महिला सशक्ति करण, अपांगता समाबेशी कार्यक्रम, विपद् जोखिम न्युनिकरण कार्यक्रम, पढ्ने बानिको विकास तथा शैक्षिक क्षेत्रको विकाश गर्ने र्काक्रम साथै पुस्तकालयमा पुस्तक, फर्निचरलगायत विभिन्न कक्ष जडानका लागि सामाग्री खरिद गरिएको कार्यक्रम संयोजक श्यामराजा तिमल्सिनाले जानकारी दिए ।
स्थानीय सुभद्रादेबी तिमल्सिनाले दान गरेको १ रोपनी जग्गामा निर्माण गरिएका पुस्तकालय भवनका लागि आवश्यक थप ४ आना जग्गा भने पुस्तकालय आफैले खरीद गरी गरेको छ । विगत २०५९ साल देखि सञ्चालमा आइरहेको पुस्तकालय भवन २०७२ सालको भूकम्पले पूर्ण रुपमा क्षति भएपछि अहिले भूकम्प प्रतिरोधात्मक भवन निर्माण गरिएको हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत