२.० कांग्रेसका नेता एवम् भानुका मेयर आनन्दराज त्रिपाठी जुवाको खालबाट गिरफ्तार

काठमाडौं । गगन थापा नेतृत्वको बदलिएको २.० कांग्रेसका नेता समेत रहेका तनहुँको भानु नगरपालिकाका मेयर आनन्दराज त्रिपाठीसहित २४ जना काठमाडौंमा जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शुक्रबार काठमाडौंको म्हैपीस्थित एक घरमा कौडा खेलिरहेको अवस्थामा उनीहरूलाई ९ लाख ६० हजार ५०० रुपियाँभन्दा बढी नगदसहित पक्राउ गरिएको हो ।

प्रहरी परिसर भद्रकालीबाट खटिएको टोलीले जुवाखालबाट नेपाली रुपियाँ ९ लाख ६० हजार ५००, अमेरिकी डलर ४६०, भारतीय रुपियाँ ५०० र कौडा १६ थान बरामद गरेको छ ।

जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी दानबहादुर थापाले जारी गरेको विज्ञप्तिमा पक्राउ परेकाहरूमाथि जुवासम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको उल्लेख छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा मेयर त्रिपाठीसहित निरज निरौला, बसन्त अधिकारी, जयराम पाण्डे, शिव भट्ट, सुजन श्रेष्ठ, नारायण श्रेष्ठ, राजेश केसी, विनोद घिमिरे, रामकृष्ण कार्की, जलेश पाण्डे, दिनेश भट्टराई, प्रदीप कडेल र माधव बिष्ट रहेका छन् ।

यस्तै सन्दीप पौडेल, सुनिल श्रेष्ठ, प्रेम श्रेष्ठ, महेश दाहाल, श्याम शर्मा, अरुण बस्नेत, सुमन रिजाल, प्रदीप गौतम र शालिग्राम वाग्ले रहेका छन् । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रवक्ता थापाले जानकारी दिएका छन् ।

Published : Monday, 2026 November 23, 7:24 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया