निर्वाचन आयोगको निर्देशिकाअनुसार देउवा पक्षको महाधिवेशन अघि बढेको छ : नेता निधि
जनकपुर । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले पार्टीको विधान, देशको कानून र निर्वाचन आयोगको निर्देशिकाअनुसार नै देउवा पक्षको महाधिवेशन प्रक्रिया अघि बढिरहेको बताएका छन् ।
शुक्रबार जनकपुरमा पत्रकारहरूसँग कुराकानी गर्दै नेता निधिले १५औँ महाधिवेशन मंसिर २१, २२ र २३ गते काठमाडौंमा आयोजना गर्नका लागि विधान, देशको कानून र निर्वाचन आयोगको निर्देशिकाअनुसार नै आवश्यक प्रक्रिया अघि बढाइएको बताए ।
नेपाली कांग्रेसको १५औं नियमित महाधिवेशनको तयारीस्वरूप १६५ क्षेत्रमध्ये १४४ क्षेत्रको क्षेत्रीय अधिवेशन र ७७ मध्ये ५२ जिल्लाको जिल्ला अधिवेशन सम्पन्न भइसकेको तथा बाँकीमा हुने क्रममा रहेको नेता निधिले बताए ।
पूर्वमन्त्री समेत रहेका नेता निधिले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा जनकपुरदेखि अयोध्यासम्मको रेल सेवा नियमित रूपमा सञ्चालन गर्न तथा जनकपुरमा हवाई सेवा सुरु गर्न पहल हुनुपर्ने बताए ।
भ्रमणका क्रममा नेपालको आर्थिक विकास, सीमा, यातायात र अन्य सम्बन्धित विषयमा सकारात्मक प्रगति हुने विश्वास रहेको निधिले बताएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया