सरकारको दुईतिहाईको धम्कीले कांग्रेस डराउँदैनः रामचन्द्र पौडेल

चितवन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकार सर्वसत्तावादतर्फ जान खोजेको आरोप लगाएका छन् ।

नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघको राष्ट्रिय भेला तथा विधान अधिवेशनको शनिबार रत्ननगरमा उद्घाटन गर्दै उनले संवैधानिक निकायमाथि सरकारले गरेको हस्तक्षेपबाट अहिलेको सरकारले सर्वसत्तावाद लाद्न खोजेको प्रष्ट भएको बताए ।

उनले भने, ‘दुई तिहाइको दम्भ देखाउँदै संवैधानिक निकायलाई त्रसित पार्न खोजिएको छ, यसबाट प्रष्ट हुन्छ कि अब सर्वसत्तावादतर्फ सरकार जाँदैछ ।’ नेपालमा अहिले लोकतन्त्र होइन नेतातन्त्र चल्न खोजेको पौडेलले आरोप लगाए ।

लामो संघर्षपछि मुलुकमा संघीयता आएको भन्दै उनले अहिले सरकार संघीयताको विपरीत जान खोजेको आरोप लगाए । सबै शक्ति विकेन्द्रित गर्नु पर्ने समयमा प्रधानमन्त्रीले शक्ति केन्द्रित गर्नुले संघीयताको विरुद्ध जान खोजेको देखिएको उनले बताए ।

निर्वाचनको समयमा जनतालाई देखाएका सपनाअनुसार काम गर्न पौडेलले सरकारलाई सुझाव दिए । एमाले र माओवादी केन्द्रको पार्टी एकतातर्फ संकेत गर्दै वरिष्ठ नेता पौडेलले भने, ‘वाम एकतामा अहिले दरार आउन खोजेको छ, हाम्रो शुभकामना भनेको एकताका लागि हो ।’

Published : Saturday, 2018 April 21, 8:51 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया