गौचन हत्यामा कस्को हात ? यस्तो छ नालीबेली

काठमाडौं । सिंगो सुरक्षा व्यवस्थालाई नै चुनौती दिने गरी नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्या हुँदा समेत प्रहरीले अहिलेसम्म हत्याराको पहिचान गर्न सकेको छैन ।

यद्यपी प्रहरीका छुट्टा छुट्टै निकायहरुले शंकास्पद गुण्डा नाइके समूहमाथि अनुसन्धान गरिरहेको जनाएको छ । त्यस्तै गौचनका विरोधी ठेकेदाहरुको गुण्डा नाइकेहरुसँगको कनेक्सनको बारेमा पनि प्रहरीको अनुन्धान मोडिएको स्रोत बताउँछ ।

घटनाको जिम्मा लिने मनोज पुन समूहले अध्यक्ष गौचनसँग रकम माग गरेको थियो या थिएन ? भन्ने विषयमा पनि प्रहरीले अनुसन्धान अगाडि बढाएको जनाएको थियो ।

त्यसो त प्रहरी इन्काउन्टरमा मारिएका डन कुमार श्रेष्ठ ‘घैंटे’का खास सहयोगी समिरमानसिंह बस्नेत गौचन हत्याकाण्डमा मुछिएका छन् । युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्या गरेपछि मनोज पुन भारतर्फ पलायन भएका थिए भने घैंटे इन्काउन्टरमा परे लगत्तै बस्नेत पनि भागेर भारत पुगेका थिए ।

भारतमा पुन र बस्नेतको भेट भएपछि योजनावद्ध रुपमा उनीहरुले एउटै समूह बनाई नेपाली व्यवसायीहरुबाट रकम असुल्दै आएका छन् । घटनाको जिम्मा लिने लोप्साङ राईले यसअघि काभ्रेली गुण्डा नाइके दावा लामामाथि पनि आफूले नै गोली चलाएको भन्दै प्रहरी र विभिन्न व्यक्तिलाई फोन गरेका थिए । राइले बस्नेत र पुनका लागि काम गर्दै आइरहेका छन् ।

गौचनको हत्या लगत्तै काठमाडौं, बुटवल, पोखरा र चितवनका दर्जनौं व्यवसायीहरुलाई इन्टरनेट कल मार्फत फोन गर्दै पैसा मागिएपछि देशभरका व्यवसायीहरु आतंकित बनेका छन् ।

प्रहरी स्रोतका अनुसार घैंट’ मारिएपछि उनका उत्तराधिकारीका रुपमा चिनिदै आएका बस्नेतले दिल्लीबाटै आफ्नो धन्दा जारी राखेका छन् । घैंटेले गजुरमुखी निर्माण सेवा मार्फत विकास निर्माणका टेण्डरहरु हत्याउँदै आएका थिए ।

गजुरमुखीको फर्म तेस्र्याई गौचनलाई धम्क्याएर उनले करोडौं रकम असुल्दै आएका थिए । स्रोतका अनुसार घैंटे शैलीमै उनका उत्तराधिकारी बस्नेतले पनि गौचनसँग एक वर्षदेखि तीन करोड रकम माग गरेका थिए । तर, गौचनले रकम दिन इन्कार गरेपछि बस्नेतको समूह हत्याको योजनामा जुटेको स्रोतको दावी छ ।

बस्नेत उनै व्यक्ति हुन् जो, महानगरीय अपराध महाशाखामा सर्वेन्द्र खनाल प्रमुख छँदा निगरानीमा परेका थिए । खनालले घैंटे इन्काउन्टर गरे लगत्तै सेनामा रासनको ठेक्काको काम गर्नै काजी शेर्पा, गुण्डा नाइके दिपक मनाङ्गेका सहयोगी उमेश लामालगायतलाई कारबाहीको दायरामा ल्याएका थिए ।

घैंटे मारिएपछि बस्नेतले इन्काउन्टर गर्ने महाशाखाको टोलीलाई नै आक्रमण गर्न भाडाका गुण्डा खटाएका थिए । त्यतिबेला महाशाखाले मुख्य योजनाकार साजन गुरुङ र उनका सहयोगी कारजोन गुरुङलाई पक्राउ गरि मुद्दा चलाएको थियो । साजन हाल भिमफेदी कारागारमा छन् ।

प्रहरीमाथि आक्रमण गर्ने योजना उनीहरुले बनाएको टेलिफोन रेकर्ड तथा एसएमएसहरु प्रहरीले फेला पारेको थियो । बस्नेतले प्रहरीमाथि आक्रमण गर्न भारतीय गिरोह पनि खटाएको अनुसन्धानबाट खुलेको थियो ।

भारतीयलाई सो समूहले केही दिन कीर्तिपुरमा ल्याएर राखेको सूचना चुहिएपछि उनीहरु भागेका थिए । त्यसका लागि १० लाख रुपैँयाको डिल भएकोसमेत अनुसन्धानमा खुलेको थियो ।

घैंटेका मुख्य सहयोगी तथा प्रहरी इन्काउन्टरमै मारिएका दिनेश अधिकारी ‘चरी’ का दुस्मन बस्नेतले राधे भण्डारीलाई पनि टेण्डरमा हुने असुलीदेखि हप्ता असुली र विभिन्न आपराधिक कृयाकलापमा संलग्न गराउँदै आएका छन् ।

भण्डारीले धादिङका अधिकांश निर्माणका टेण्डरबाट चरीकै सहयोगी दाप्पा भन्ने सुर्यबहादुर गुरुङलाई हातमा लिएर करोडौं उठाएको रेकर्ड पनि महाशाखाले फेला पारेको थियो ।

प्रहरी अनुसन्धान स्रोत भन्छ–‘अहिले गौचनको हत्या हुनु पनि घैंटेकै पालादेखिको कारोवारको रकमको भागवण्डा नमिलेको हुनसक्छ । प्रहरीलाई समेत आक्रमण गर्ने योजना बनाउने बस्नेतको गिरोहले मनोज पुनको नाम भजाएर आफूलाई सुरक्षित राख्न खोजेको पनि देखिन्छ ।’

प्रहरीमाथि नै बस्नेतले आक्रमणको योजना बनाउनु, गौचनबाट घैंटेले रकम असुल्नु र घैंटेका मुख्य सहयोगी बस्नेत हुनुले पनि गौचन हत्या योजनामा बस्नेत समूहको हात रहेका आधारहरु देखिन्छन् ।

बस्नेत र पुन नेपालबाट पलायन भई गोवामा खानेपानीको प्लान्ट राख्नका लागि नेपालबाटै करोडौं रकम उठाउन सफल भएको स्रोत बताउँछ ।

प्रहरीका केही उच्च अधिकारीसँग बस्नेतको उठबस रहेको हुँदा उनले प्रविधिको पनि दुरुपयोग गरी व्यापारीसँग फिरौती असुल्दै आएको एक व्यवसायी बताउँछन् । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।

Published : Thursday, 2017 October 12, 8:11 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया