धनपति पक्राउ
काठमाडौं । प्रहरीले झापामा जबरजस्ती करणी र डाँका मुद्दाका फरार ७७ वर्षीय धनपति ढुङगानालाई पक्राउ गरेको छ ।
कन्काई नगरपालिका–४ बस्ने ढुङगानालाई सोमबार प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।
जिल्ला अदालत झापाको २०६७ पुस १३ गतेको फैसलाले जबरजस्ती करणी र डाँका मुद्दामा ६ वर्ष कैद र ७५ हजार रूपियाँ जरिवाना सजाय ठहर भई उनी फरार रहेका थिए ।
उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
ढुंगानालाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत झापा चन्द्रगढीमा उपस्थित गराइएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय भद्रपुर चन्द्रगढी पठाइएको छ ।
यसैबीच, कञ्चनपुरको बेलौरी नगरपालिका–७ कालोपुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ९१ मिलिग्राम सहित कैलाली गोदावरी नगरपालिका–३ बस्ने ४६ वर्षीय कर्ण बिक समेत ३ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले सु.प्र.प.०१ ००१ ह २८१२ नम्बरको अटोलाई जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारी अटोका चालक बिक समेत ३ जनालाई पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।
यता, झापाको मेचीनगर नगरपालिका–१० धुलाबारी बजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ७ सय मिलिग्राम सहित भारत घर भएका २२ वर्षीय रजिया आलमलाई सोमबार राति प्रहरीले पक्राउ गरेको जनाएको छ ।
लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टा र ईलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको संयुक्त प्रहरी टोलीले उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया