एमालेको निर्णयले कर्ण मल्लको ओठ सुक्यो, देउवाको मनमा लड्डु फुट्यो

काठमाडौं । डडेल्धुरा जिल्लामा एमालेले कर्णबहादुर मल्ललाई दिएको समर्थन फिर्ता लिएको छ ।

शुक्रबार विज्ञप्ति जारी गरेर डडेल्धुरा एमालेले मंसिर ४ गतेको निर्वाचनमा एमालेले एकल रूपमा उम्मेदवार उठाउने निर्णय गरेको जनाएको छ ।

डडेल्धुरा एमालेले प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १ ‘क’मा पठान सिंह बोहरा र निर्वाचन क्षेत्र नम्बर २ ‘क’मा गजेन्द्रबहादुर शाहीलाई उठाउने निर्णय गरेको जनाएको छ ।

एमालेले प्रतिनिधिसभामा कांग्रेस वीपीका कर्ण मल्ललाई सघाएको थियो । प्रदेश सभाको ‘क’ र ‘ख’ दुबैमा कांग्रेस बीपीले एमालेलाई सघाउने सहमति भएको थियो ।

त्यसअनुसार एमालेले चत्रप्रसाद स्नेहीको उम्मेदवारी समेत फिर्ता गराएको थियो । एमाले डडेल्धुराले सुरूमा कांग्रेस वीपीसँग तालमेल गर्ने भएको थियो ।

निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत प्रतिनिधि सभामा कांग्रेस वीपीका उम्मेदवार र प्रदेश सभाअन्तर्गत १ र २ दुवै क्षेत्रमा एमालेका उम्मेदवार उठाउने सहमति भएको थियो ।

‘नेपाली कांग्रेस (वीपी) ले उक्त सहमति उल्लंघन गरी प्रदेश सभा २ मा स्वतन्त्र उम्मेदवारसँग तालमेल गर्ने कार्यप्रति हामो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा भनिएको छ ।

‘एकतर्फी ढंगले सम्झौता उल्लंघन गरेको कार्यप्रति असहमति जनाउँदै चुनावी तालमेल भंग गरेर एकल रूपमा निर्वाचनमा होमिने निर्णय गरिएको छ’, एमालेले भनेको छ ।

शुक्रबार बसेको एमाले जिल्ला कमिटी डडेल्धुराको बैठकले यो निर्णय गरेको विज्ञप्तिमा भनिएको छ ।

एमाले र कांग्रेस वीपीको सहमति भङ्ग भएपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई झन् सहज भएको छ ।

Published : Friday, 2022 October 14, 9:51 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया