एमालेकी रक्षक गंगाद्धारा पार्टी परित्याग, बालकोटमा तनाब, स्वतन्त्रबाट उम्मेदवारी दिने
काठमाडौं । एमालेकी नेतृ गंगा चौधरीले पार्टी छाडेको घोषणा गर्दै प्रतिनिधि सभातर्फ स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेकी छिन् ।
नेतृ चौधरीले दाङको क्षेत्र नं. १ बाट प्रतिनिधि सभातर्फ प्रत्यक्षमा उम्मेदवारी दिने घोषणा गरेकी हुन् ।
दाङको क्षेत्र नं. १ बाट एमाले शान्ता चौधरी र रेवतीरमण शर्मामध्ये एक जनालाई उम्मेदवार बनाउने तयारी गरेको छ ।
शान्तालाई प्रतिनिधि सभा र शर्मालाई प्रदेश ‘ख’तर्फ टिकट दिने तयारी छ । प्रदेश ‘क’मा गंगाराम भट्टराईले टिकट पाउने सम्भावना छ ।
गंगा चौधरी एमालेकी निवर्तमान सांसद समेत हुन् ।
‘मेरो निर्वाचन क्षेत्रमा एमालेबाट मभन्दा सक्षम अर्को उम्मेदवार छैन’, उनले भनेकी छिन्, ‘अझ बाहिरबाट ल्याएर उम्मेदवार बनाएपछि मैले स्वतन्त्र उम्मेदवारी दिने निर्णय लिएकी हुँ ।’
आफूले एमालेको सदस्यताबाट राजीनामा भने दिइनसकेको उनले बताएकी छिन् ।
‘मैले पार्टीबाट औपचारिक राजीनामा दिएको छैन’, उनले भनेकी छिन्, ‘राजीनामा नदिएसम्म पार्टी छाडेको भन्न मिलेन ।’
चौधरीले भनेकी छन्, ‘आज मैले ठीक निर्णय गरे या बेठीक मलाई थाहा छैन । राष्ट्र र राष्ट्रियताको लागि म सधैं लागिरहनेछु । जनता भगवान हुन्, जनता नै सर्वोपरि हुन् । देशलाई शीरमाथि राखेर आज स्वतन्त्र उम्मेदवार भएर जनताको बीचमा आउँदैछु, हजुरहरुको साथ चाहिएको छ ।’
फेसबुकबाट तपाईको प्रतिक्रिया