१०औं वर्ष प्रतिपक्षमा बस्नुपरे पनि कांग्रेस तयार हुनुपर्छ : नैनसिंह महर

काठमाडौं । नेपाली कांग्रेसका नेता नैनसिंह महरले कांग्रेसले सरकारको फेरो समात्न आवश्यक नरहेको बताएका छन् ।

शुक्रबार काठमाडौंमा नेपाल लोकतान्त्रिक खेलकुद संघको १०औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा महरले कांग्रेसले वर्तमान अवस्थामा जनताको माझमा रहेर सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्ने बताए ।

उनले भने, ‘लोकतान्त्रिक पद्धतिमाथि चौतर्फी प्रहार भइरहेको छ । जनताका जनजीवनका सवालमा सरकार बेखवर छ ।’

‘यतिबेला कांग्रेसले अरूको वैशाखी बन्नु हुँदैन । हामीलाई वैशाखी बनाएर आफ्नो दुनो सोझ्याउन माहिर पश्चगामीहरूलाई अब कांग्रेसले ठीक साइजमा ल्याउने बेला भइसकेको छ’, महरले भने ।

‘हामी सशक्त प्रतिपक्षको भूमिका निर्वाह गरौं र २०८४ मा एकल बहुमत ल्याउन सक्ने पार्टी तयार पारौं’, उनले भने ।

जहिले जताततै समस्या नै समस्या र निराशा नै निराशा रहेकाले त्यो चिर्नका लागि कांग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने महरले बताएका छन् ।

गठबन्धन र सत्ता केन्द्रित राजनीतिका कारण जनतामा चरम निराशा छाएको कुरालाई कांग्रेसले नजरअन्दाज गर्न नहुने उनले बताएका छन् ।

मुलुकमा राजनीतिक अस्थिरता निम्त्याउने र धुमिल पानीमा माछा मार्न खोज्नेहरू सक्रिय हुने नेता महरले बताएका छन् ।

‘त्यसैले अब जनताको चाहनालाई प्राथमिकतामा राखेर काम गर्नुपर्छ’, उनले भने, ‘त्यसका लागि १०औं वर्ष प्रतिपक्षमा बस्नुपरे पनि कांग्रेस तयार हुनुपर्छ ।’

‘यो साढे तीन वर्षको अवधिमा कांग्रेसले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्दै पार्टीका बाँकी रहेका कामलाई पनि फत्ते गर्नुपर्छ’, महरले भने ।

‘त्यसपछि मात्र कांग्रेसप्रति जनताको पुरानो विश्वास फर्किने छ र बहुमत ल्याउनबाट कसैले रोक्न सक्ने छैन’, महरले भने ।

महरले खेलकुद क्षेत्र कुनै पनि राजनीतिक दलको प्राथमिकतामा नरहेकाले कांग्रेसले प्राथमिकतामा राख्नु पर्ने बताएका छन् ।

Published : Friday, 2024 May 3, 7:59 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया