राज्यमन्त्री विमलाले मर्यादा भुलेर हर्कत गरेपछि प्रहरीले उद्धार गरेर बचायो
तुलसीपुर । लुम्बिनी प्रदेशकी स्वास्थ राज्यमन्त्री विमलाकुमारी खत्री वलीलाई प्रहरीले उद्धार गरेर इलाका प्रहरी कार्यालय तुलसीपुरमा राखेको छ ।
मंगलबार बिहान दाङको तुलसीपुर उप–महानगर–५ सब्जिमण्डी बजार नजिकै एक महिलालाई घरमा गएर कुटपिट गरेको भन्दै ४/५ सय जनाले राज्यमन्त्री वलीलाई घेराउ गरेका थिए ।
त्यसपछि तत्काल पुगेको प्रहरीले वलीलाई उद्धार गरेर इलाका प्रहरी कार्यालय तुलसीपुरमा राखेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख (एसपी) सुरेशप्रसाद काफ्लेले जानकारी दिए ।
एसपी काफ्लेले भने, ‘राज्यमन्त्रीज्यूलाई उद्धार गरेर इलाका प्रहरी कार्यालय तुलसीपुरमा राखेका छौँ । घटना के भएको हो बुझ्दै छौँ ।’
वाइसिएलका नेता एकराज बस्नेतकी श्रीमती र छोरीलाई कुटपिट गरेको भन्दै प्रहरीले राज्यमन्त्री वलीलाई नियन्त्रणमा लिएको प्रत्यक्षदर्शीको भनाइ छ ।
बस्नेतकी श्रीमती र छोरीले आफूमाथि राज्यमन्त्री वलीले हातपात गरेको आरोप लगाएका छन् । मन्त्री नहुँदै बस्नेतसँग वलीले खिचेको सेल्फी भाइरल भएको थियो ।
त्यसपछि बस्नेतसँग राज्यमन्त्री वलीको सम्बन्ध रहेको आरोप लागेको थियो । बस्नेत भने सम्पर्क बिहीन छन् ।
राज्यमन्त्री वली तत्कालीन समयमा एमालेबाट प्रदेश सभामा निर्वाचित भएकी थिइन् । उनले एमाले पार्टी छाडिसकेकी छिन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया