कांग्रेस सभापतिले नै ढालिदिए विष्णु पौडेलले अर्को नगरपालिका, गृहमन्त्री खाणले दिए बधाई
बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार रामकृष्ण खाण शानदार मतका साथ निर्वाचित भएका छन् ।
निर्वाचन आयोगले शुक्रबार बिहान सार्वजनिक गरेको अन्तिम नतिजाअनुसार खाणले आफ्ना प्रतिद्वन्द्वलाई ७६५ मतसहित फराकिलो मतअन्तरले हराएका हुन् । मेयरमा निर्वाचित खाण रुपन्देही कांग्रेसका सभापति पनि हुन् । खाणले २४३९६ मत पाएर निर्वाचित भएका छन् ।
खाणसँग मेयरमा एमालेका मोहन चापागाइँ पराजित भएका छन् । चापागाइँले २३६३१ मत पाएका छन् ।
उप–मेयरमा एमालेकी जगेश्वरदेवी चौधरी २३०८६ मतसहित निर्वाचित भएकी छिन् । माओवादीका हेमलाल पाण्डे ११५४९ मतसहित पराजित भएका छन् ।
वडा नं. १ को वडाध्यक्षमा एमालेका फर्शुराम गिरी, २ मा कांग्रेसका डिलबहादुर भट्टराई, ३ मा कांग्रेसका कल्याणप्रसाद पौडेल, ४ मा एमालेका हरिबहादुर क्षेत्री र ५ मा कांग्रेसका रमेश डुम्रे निर्वाचित भएका छन् ।
वडा नं. ६ को वडाध्यक्षमा कांग्रेसका गणेश पाठक, ७ मा एमालेका देवीप्रसाद पंगेनी, ८ मा कृष्णप्रसाद पौडेल, ९ मा कांग्रेसका ध्रुव न्यौपाने र १० मा एमालेका गोपालप्रसाद घिमिरे निर्वाचित भएका छन् ।
वडा नं. ११ को वडाध्यक्षमा एमालेका विष्णुबहाुर बराल क्षेत्री, १२ मा एमालेका सहदेव थारु, १३ मा कांग्रेसका नारायण ढकाल, १४ मा कांग्रेसका आश्विन पौडेल, १५ मा एमालेका खेमराज गुरुङ, १६ मा कांग्रेसका झविलाल भुषाल र १७ मा कांग्रेसका दानबहादुर चौधरी निर्वाचित भएका छन् ।
कांग्रेसले १७ वटा वडामा ९ वटा वडा जितेको छ । एमालेले ८ वटा वडामा जितेको छ । तिलोत्तमा नगरपालिकामा कांग्रेसले बहुमत सिट जितेको छ ।
मेयरमा निर्वाचित कांग्रेसका खाण गृहमन्त्री बालकृष्ण खाणका भाई पनि हुन् । खाण मेयरमा निर्वाचित भएर रुपन्देही कांग्रेसको राजनीतिमा सुरुवाती ओपनिङ राम्रो गरेका छन् ।
एमालेका उपाध्यक्ष विष्णु पौडेलले जितेको यो क्षेत्रमा कांग्रेसले अधिकांश वडाहरूमा जित हासिल गरेको छ । एमालेका नेता पौडेलले बुटवलपछि तिलोत्तमा पनि गुमाएका छन् ।
गृहमन्त्री खाणले रुपन्देहीका अधिकांश पालिकाहरूमा कांग्रेसका उम्मेदवार निर्वाचित भएकोमा खुशी व्यक्त गरेका छन् । उनले नवननिर्वाचित जनप्रतिनिधिहरूलाई बधाई तथा शुभकामना दिएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया