नीति तथा कार्यक्रममा दाङ नपरेपछि कांग्रेस नेतृ देवकोटाले उठाइन कुरा
काठमाडौं । राष्ट्रिय सभामा नेपाली कांग्रेसकी प्रमुख सचेतक अनिता देवकोटाले सरकारको नीति तथा कार्यक्रमको स्वागत गरेकी छिन् ।
राष्ट्रिय सभाको बिहीबार बसेको बैठकमा छलफलमा सहभागी हुँदै देवकोटाले नीति तथा कार्यक्रमको स्वागत गरेकी हुन् ।
‘जनतालाई कोभिडबाट बचाउनको लागि खोप सुनिश्चितता गर्ने, सबै तहका निर्वाचन सम्पन्न गर्ने शेरबहादुर देउवा नेतृत्वको गठबन्धनको सरकारले त्यो अभिभारा लिएको थियो’, उनले भनेकी छिन् ।
देवकोटाले भनेकी छिन्, ‘संविधान रक्षाको लागि समयमा निर्वाचन हुन्छ ।’
उनले बालबालिकालाई पनि छिटो कोरोनाविरुद्धको खोप ल्याएर लगाइदिन आग्रह गरेकी छिन् ।
तराईमा अत्यन्तै समस्याको रुपमा रहेको नागरिकताको कुरा नीति तथा कार्यक्रमले सम्बोधन गरेको भन्दै प्रमुख सचेतक देवकोटाले धन्यावाद दिएकी छिन् ।
उनले सरकारले भारतसँगको सीमा विवाद वार्ता र सम्वादबाट समाधान गर्ने भनेको बताएकी छिन् ।
सरकारको नीति तथा कार्यक्रममा दाङका महत्वपूर्ण विषय नपरेको भन्दै असन्तुष्टि जनाइन् । उनले विमानस्थल, लुम्बिनीको राजधानी, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानसहितका विषय बजेटमा राखन आग्रह गरेकी छिन् ।
‘राप्तीको मुख्य केन्द्रविन्दुमा रहेको दाङ, रुकुम, रोल्पा, प्यूठान र सल्यानको केन्द्रविन्दुमा रहेको छ’, उनले भनेकी छिन्, ‘तुलसीपुरको टरीगाउँ एयरपोर्टको रनवे विस्तार गर्ने कुरा नीति तथा कार्यक्रमले छोएन ।’
‘यो कुरा बजेटमार्फत सम्बोधन हुनेछ भन्ने मलाई लागेको छ’, उनले भनेकी छिन्, ‘पटक–पटक राजनैतिक प्रतिबद्धता भएका छन् । अर्थमन्त्रीज्यूहरू बोल्नुभएको छ । यसबारेमा गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।’
कांग्रेसकी सांसद देवकोटाले भनेकी छिन्, ‘राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस पढाइ सञ्चालन गर्ने र त्यहाँको भौतिकपूर्वाधारहरू निर्माण गर्ने, दाँत र मुखको हस्पिटल निर्माण गर्ने कुराहरू सपना थियो ।’
‘लम्बिनी प्रदेशको राजधानी दाङ । त्यसको केन्द्रविन्दु राप्ती गाउँपालिका रहेको छ’, देवकोटाले भनेकी छिन्, ‘भौतिकपूर्वाधारहरू निर्माण भएका छैनन् । यो कुरा पनि नीति तथा कार्यक्रममा देखिएन । बजेटमार्फत यी कुरा पनि सम्बोधन हुनेछ भन्ने विश्वास लिन्छु ।’
कांग्रेसकी प्रमुख सचेतक देवकोटाले बजेट निर्माण हुँदा लैंगिकमैत्री बजेट निर्माण हुनुपर्ने बताएकी छिन् ।
उनले पेट्रोलियम पदार्थको मूल्य बढेको बताएकी छिन् । उनले दैनिक उपभोग्यवस्तुमा अत्याधिक मूल्यबृद्धि भएको भन्दै त्यसलाई नियन्त्रण गर्न आग्रह गरेकी छिन् ।
देवकोटाले आधुनिक कृषि प्रणालीलाई प्रविधिमत्रै बनाउन पनि आग्रह गरेकी छिन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया