माओवादीका नेता, कार्यकर्ता केटाकेटी हुन् : केपी ओली

काठमाडौं । वैशाख ९ गतेको कार्यक्रममा पुष्पलालको तस्बिर हटाउन माओवादी केन्द्रले दिएको दवावलाई लिएर एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले माओवादी केन्द्रका नेता कार्यकर्तालाई केटाकेटीको संज्ञा दिएका छन् ।

नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसको कार्यक्रममा भएको ब्यानर विवादलाई लिएर ओलीले माओवादी केन्द्रविरुद्ध कडा टिप्पणी गरेका हुन् ।

एमालेका पूर्वअध्यक्ष तथा पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीको स्मृति दिवसको अवसरमा राजधानीमा बिहीबार आयोजित कार्यक्रममा ओलीले कम्युनिस्ट आन्दोलनको जग नबुझेरै ब्यानर झार्न लगाएको आरोप लगाए ।

उनले भने, ‘अब अस्ति नौ गते पार्टी स्थापना दिवसमा पनि देख्यौँ हामीले । केही केटाकेटीहरूलाई पुष्पलालको फोटो नहटाइकन भएन । किनभने त्यो हाम्रो मान्छे होइन, हाम्रो मान्छे नभएको हुनाले यो अर्को पार्टीको देखियो भनेर पिर ।’

‘अहिले आएर बनाएको मञ्चमा टाँगेको ब्यानर हेरेर उफ्रिरहनु कुरा हुन्छ ? राणा शासनको अन्धकार युगमा उफ्रिनु, पञ्चायतको जमानामा कैलालीको जंगलमा मध्यरातमा एक्लै लगेर अलपत्र छोडेर आउनु, ती कथा बेग्लै हुन्’, प्रधानमन्त्री ओलीले प्रश्न गर्दै भने, ‘अहिले अवस्था बैग्लै छ । अहिले आएर पुष्पलाल र मनमोहनको फोटो किन छापियो भनेर भन्न सकिन्छ ?’

विचार, उद्देश्य, योगदान, स्थापना र कम्युनिस्ट आन्दोलने पुष्पलाल, मनमोहन अधिकारी भएको कुरा बिर्सन नहुने उनले बताए । पुष्पलाल र मनमोहनको भूमिका र योगदान प्रेरणा लिन छोडेको दिन नेपालको कम्युनिस्ट आन्दोलनको अस्तित्व समाप्त हुने ओलीले दाबी गरे ।

‘नेपालको कम्युनिस्ट आन्दोलनमा अग्रजहरूले खेलेको भूमिका र योगदानका बारे पछिको पिँडीलाई बुझाउनुपर्छ’, प्रधानमन्त्री ओलीले भने, ‘झन्झट मानेर हुँदैन । बुझ्छन, बुझाउनु पर्छ, नबुझेर अर्को बाटो छैन ।’

एमाले र नेकपा (माओवादी केन्द्र)ले आइतबार वैशाख ९ गते नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवस र लेनिन जयन्तीको अवसरमा पार्टी एकताको सन्देश दिन भन्दै संयुक्त कार्यक्रम गरेका थिए ।

सोही दिन पार्टी एकताको घोषणा गरिने बताइए पनि केही विषयमा फाइनल टच दिनुपर्ने भन्दै एकता पछि सरेको थियो ।

कार्यक्रम सुरु नहुँदै ब्यानरमा लेनिनको फोटो नभएको, माओवादी केन्द्रको नाम नेकपा माके राखिएको भन्दै माओवादी कार्यकर्ताहरूले विरोध जनाएका थिए ।

ब्यानर नहटाए कार्यक्रम नहुने भन्दै हलबाट विरोध भए पछि ब्यानर निकालिएको थियो । पछि त्यही ब्यानरसँगै अर्को एउटा पनि ब्यानर राखेर कार्यक्रम भएको थियो ।

Published : Thursday, 2018 April 26, 6:02 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया