१६ वर्षदेखि भागेका बझाङका वीरेन्द्र र रामदेवीलाई सीआईबीद्वारा पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले अपराध गरेर भागेका दुई जनालाई पक्राउ गरेको छ ।

१६ वर्षअघि बझाङ जिल्लामा मान्छे मारेर भागेका ४० वर्षीय वीरेन्द्र राना र ३३ वर्षीय रामदेवी रानालाई सीआईबीले पक्राउ गरेको हो । उनीहरूले २०६२ असोज २३ गते दिउसो ४ बजे बझाङको जयपृथ्वी नगरपालिका– ७ का मीनबहादुर भण्डारीको हत्या गरेर भागेका थिए ।

मृतक मीनबहादुरकै घरको आँगनमा वीरेन्द्र र रामदेवीसमेतले घरेलु हतियार बञ्चरो, हँसिया, कुटो प्रयोग गरी विभत्स तरिकाले हत्या गरी वारदातस्थलबाटै भागेका थिए ।

हालसम्म भागी फरार भएका कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत बझाङको मिति २०६६/१२/२२ गतेको फैसलाबाट तीन वर्षको कैद सजाय तोकेको थियो ।

व्यूरोबाट खटिएको टोलीले उनीहरूलाई चैत १४ गते शनिबार कञ्चनपुरको भीमदत्त नगरपालिका–११ गड्डाचौकीस्थित नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

उनीहरूलाई फैसला कार्यान्वयनको लागि बझाङ जिल्ला अदालतमा पेश गरेको व्यूरोले जनाएको छ ।

Published : Monday, 2022 February 28, 11:36 am

फेसबुकबाट तपाईको प्रतिक्रिया