सरकारमा सहभागी हुन भारतको ‘पावर’, बालुवाटार धाउँदै राजपा

काठमाडौं । एमालेका अध्यक्ष केपी ओली नेतृत्वको कम्युनिष्ट गठबन्धनको सरकारमा सहभागी हुन राष्ट्रिय जनता पार्टी नेपालको अध्यक्षमण्डल शीर्ष नेताहरूले भारतीय राजदूत मञ्जिभसिंह पुरीको सहयोग लिएको खुलासा भएको छ ।

संघीय समाजवादी फोरम नेपाल ओली सरकारमा सहभागी हुने अन्तिम तयारी गरिहेका बेला राजदूत पुरीको ‘पावर’ लगाएर राजपा नेपालले ‘ओभर टेक’ गर्न लागेको हो । राजपा नेपाललाई सरकारमा सहभागी गराउन ओलीलाई राजदूत पुरीले दवाव दिएको स्रोतले जनाएको छ ।

‘ओली सरकारमा सहभागी हुन राजपा नेपालका शीर्ष नेताहरूले कुनै पनि पूर्वसर्त राखेका छैनन्’, एमाले निकट उच्च स्रोतले भन्यो, ‘जसरी हुन्छ संघीय फोरम र उपेन्द्र यादवलाई रोकेर राजपा सरकारमा सहभागी हुनुपर्छ भन्ने एकमात्रै कुरा आएको छ । कुनै पनि पूर्वसर्त छैन भनेर महन्थ ठाकुर, राजेन्द्र महतोसहितका नेताहरूले कुरा अगाडि बढाएका छन् ।’

राजपा नेपालको अध्यक्षमण्डलका शीर्ष नेताहरू शनिबार र आइतबार लैनचौरस्थित भारतीय राजदूतावासमा गएर ओली सरकारमा सहभागितका लागि वातावरण मिलाइदिन आग्रह गरेका थिए । उनीहरूको आग्रहपछि भारतीय राजदूत पुरीले प्रधानमन्त्री ओलीसँग आइतबार फोनमा कुराकानी गरेको उच्च स्रोतको दाबी छ ।

राजदूत पुरीको आग्रहपछि प्रधानमन्त्री ओलीले राजपा नेपालका संयोजक महन्थ ठाकुरलाई बालुवाटार बोलाएर लामो छलफल गरेका थिए । त्यो छलफलमा ओलीले विनासर्त सरकारमा सहभागी हुने भए आफू राजपालाई समेट्न तयार रहेको बताएका थिए ।

जवाफमा राजपा नेपालका अध्यक्ष ठाकुरले सो विषयमा आफू सकारात्मक रहेको र छलफल गरेर जवाफ दिनेभन्दै खुसीका साथ बालुवाटारबाट बाहिरिएको स्रोतको भनाइ छ । सरकारमा सहभागितका लागि विशेष गरेर राजपा नेपालका नेता राजेन्द्र महतोले विशेष भूमिका खेलेका छन् ।

संविधान संशोधन, सीमाङ्कन, नागरिकता लगायतका विषयलाई राजपाले नउठाउने कम्युनिष्ट गठबन्धनसँग सहमति गरेको एमालेका एक नेताले बताए । भारतसँग निकटताको समबन्ध खोजी रहेका ओलीलाई राजपाको सत्तारोहणपछि सहयोग मिल्ने विश्लेषण हुन थालेको छ ।

Published : Monday, 2018 March 5, 9:54 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया