ओलीसँग कन्भिन्स भए यादव, सरकारमा जाने सहमति

काठमाडौं । वाम गठबन्धन नेतृत्वको सरकारले पूर्णता पाउने तयारी भइरहेका बेला प्रधानमन्त्री केपी ओलीले संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवसँग गोप्य वार्ता गरेको खुलासा भएको छ ।

अध्यक्ष ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार राति अध्यक्ष यादवसँग सरकारमा सहभागिताबारे छलफल भएको स्रोतले जनाएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग वार्ता सिध्याएपछि प्रधानमन्त्री ओलीले यादवलाई बालुवाटारमा बोलाएर परामर्श गरेका हुन् ।

आइतबार राति ओली र यादवबीच झण्डै साढे दुई घण्टा कुराकानी भएको छ । एमाले–माओवादी केन्द्रबाट सरकारमा जाने मन्त्रीहरूको सूची तयार पारेपछि ओलीले मन्त्रीको नाम दिन यादवसँग आग्रह गरेका थिए । यादवले आफू सरकारमा जान तयार भएको तर, केही दिनलाई पर्खिन आग्रह गरेको स्रोतले बताएको छ ।

सोमबार मन्त्रिमण्डल बिस्तार हुँदै छ । एमाले र माओवादीका मन्त्रीसँगै फोरमलाई पनि सरकारमा सहभागी गराउन ओलीले यादवलाई बालुवाटार बोलाएको दाबी गरिएको छ ।

संघीय फोरमका अध्यक्ष यादवले सरकारमा सहभागी हुनु अगाडि आफूले राखेको चार बुँदे प्रस्तावका विषयमा लिखित सहमति हुनुपर्ने माग राखेका छन् । प्रधानमन्त्री ओलीले औचित्यका आधारमा संविधान संशोधन गर्ने आश्वासन पनि यादवलाई दिएका छन् ।

अध्यक्ष यादव ओली नेतृत्वको वर्तमान सरकारमा सहभागी हुने भनेर संकेत गरिसकेका छन् । स्रोतका अनुसार यादवको पार्टीलाई ओलीले उपप्रधानमन्त्रीसहित दुई वटा मन्त्रालय दिने तयारी गरेका छन् ।

संघीय फोरमको सरकारमा जाने तयारीका विषयमा पार्टीभित्र पनि यादवले परामर्श गरिसकेका छन् । पार्टीका शीर्ष नेताहरूले पनि ओलीको सरकारमा जाँदा राजनीतिक फाइदा हुने भन्दै यादवलाई सहयोग गरेको स्रोतको भनाइ छ ।

Published : Monday, 2018 February 26, 9:23 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया