कोरोनाका बेला दक्षिणी ललितपुरका चार हजार धेरैलाई राहत प्रदान
ललितपुर । कोरोना महामारीले दिनानुदिन उत्पन्न गरेको भयाभह अवस्थामा दक्षिण ललितपुरका चार हजार बढि गाउँवासीले राहत लिएका छन् ।
ताइवानका बौद्ध धर्मावलम्बीहरूको संस्था चु ची फाउण्डेशनले भौगोलिक विकटताका साथै कोभिड महामारीले आर्थिक अवस्था सङ्कटमा परेर गरिबीका साथै भोकसँग सामना गर्न बाध्य वाग्मती, महाङ्काल र कोञ्ज्योसोमका चार हजार ४५९ गाउँवासीलाई खाद्यान्न सहयोग गरेको हो ।
संस्थाले महामारीका साथै प्राकृतिक प्रकोप खेप्न बाध्य विश्वभरका जनतालाई सहयोग गर्दै आएको पूर्व अर्थराज्यमन्त्री उदयशमशेर राणाले बताए ।
‘यस संस्थालाई आग्रह गरेर हामीले यी तीन गाउँपालिकाका मानिसलाई महामारीकासाथै आसन्न महान चाड दशैंका बेला प्रत्येक परिवार २५ केजीको एक प्याकेट जिरा मसिनो चामल, १० केजी पिठो, तीन केजी दाल, २ केजी चना, २ लिटर तेल, ४ पिस साबुन र १ केजी नुन वितरण गर्यौँ’, राणाले जानकारी दिए ।
सो संस्थाले विक्रम संवत २०७२ को गोरखा भूकम्पपछि तीन वटा गाउँपालिकामा तत्काल अस्थायी विद्यालय निर्माण गरेर कयौँ विद्यार्थीको भविष्यलाई अन्धकार हुनबाट बचाएको राणाले बताए ।
गाउँपालिकाका प्रमुखको उपस्थितिमा कोञ्ज्योसोम वडा नं १ चौघरेका ४२० घर धुरी, महाङ्काल छ वटै वडाका दुई हजार ५२९ घर धुरी र वाग्मती वडा नं १ घुसेल, वडा नं. २ माल्टा र वडा नं ६ आश्राङका एक हजार ५१० घर धुरीलाई राहत वितरण गरिएको संस्थाका स्वयंसेवक ऋषिदेव फुयालले बताए ।
छ वर्षअघि सो संस्थाले जहाँ–जहाँ अस्थायी विद्यालय निर्माण गरिदिएको थियो त्यहाँका जनतालाई मात्र अहिले राहतसहयोग गरेको राणाको भनाई छ ।
ताइवानकी हाल ८४ वर्षीया मास्टर सि चेनयान नामक महिला एक निजी अस्पताल जाँदा गरिबीका कारण एक सुत्केरी महिलाले उपचार नपाएर रगत भएर मर्नुपरेको कारण थाहा पाएर गरिबका लागि सबैसँग एक रुपियाँ जम्मा गरेर अस्पताल बनाइदिएको र जीवनभर विवाह नगरी सहयोग गर्दै हिड्ने क्रममा उक्त संस्था पनि गठन गरेको अर्का स्वयंसेवक ज्ञानबहादुर लोले बताए ।
‘यस संस्थामा हाल विश्वभरका एक सय देशका एक करोड बढी स्वयंसेवक र ५३ शाखा खुलेका छन्’, स्वयंसेवक लो भने ।
नेपालमा भने विभिन्न नियमका कारण शाखा खोल्न नमिलेको फुयालको भनाई छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया