सुझाव समितिको सुझाव विपरित तोकिए केन्द्र, बल्न थाल्यो ‘आगो’

काठमाडौं । एमालेको विरोधका बाबजुद सरकारले सात प्रदेशको अस्थायी मुकाम र प्रदेश प्रमुखहरू तोकेको छ । प्रदेशका केन्द्र तोकिएपछि वीरगञ्ज, दाङ, डोटी लगायतका जिल्लाहरूमा आन्दोलन सुरु भएको छ । अनिश्चितकालीन आमहड्ताल घोषणा भएका छन् ।

रक्षामन्त्री भीमसेन दास प्रधानका अनुसार प्रदेश नम्बर १ को केन्द्र विराटनगर, २ को जनकपुर, ३ को हेटौंडा, ४ को पोखरा, ५ को रुपन्देही, ६ को सुर्खेत र ७ को धनगढी तोकिएको छ ।

राजधानीको विषयमा सुझाव दिन सरकारले एउटा समिति गठन गरेको थियो । त्यो समितिले तीन प्रदेशमा एउटा मात्र र बाँकी चार प्रदेशमा विभिन्न सहरको विकल्प दिएको थियो । समितिले एउटा मात्र विकल्प दिएका प्रदेशहरूमा प्रदेश नम्बर २, ४ र ६ थियो ।

समितिले प्रदेशको राजधानी तोक्न भौतिक पूर्वाधार, यातायातको सुगमता, प्रशासकीय सुगमता, भौगोलिक केन्द्र, ऐतिहासिक महत्व र सुरक्षाको व्यवस्थालाई मापदण्ड तोकेको थियो ।

प्रदेश नम्बर १ मा धनकुटा र इटहरी विकल्पमा थियो । प्रदेश नम्बर ३ मा केन्द्रको राजधानी काठमाडौं बाहेक बनेपा, धुलिखेल विकल्पमा थियो ।

प्रदेश नम्बर ५ मा तुल्सीपुर, दाङ र बुटवल विकल्पमा थियो भने प्रदेश नम्बर ७ मा धनगढी र दिपायल विकल्पमा थियो ।

प्रदेश राजधानीको अन्तिम टुङ्गो भने सम्बन्धित प्रदेश सभाको दुई तिहाई बहुमतले लगाउने प्रावधान संविधानमा छ । दुई तिहाई बहुमतले कुनै स्थान तोक्न सकेन भने अस्थायी राजधानीमै सबै काम हुनेछ ।

सरकारले प्रदेश प्रमुखहरू पनि तोकेको छ । प्रदेश नम्बर १ को प्रमुखमा गोविन्द सुब्बा, प्रदेश नम्बर २ मा रत्नेश्वरलाल कायस्थ, प्रदेश नम्बर ३ मा अनुराधा कोइराला, प्रदेश नम्बर ४ मा बाबुराम कुँवर, प्रदेश नम्बर ५ मा उमाकान्त झा, प्रदेश नम्बर ६ मा दुर्गा खनाल र ७ मा मोहनराज मल्ललाई प्रमुख तोकिएको रक्षामन्त्री प्रधानले जानकारी दिए ।

Published : Wednesday, 2018 January 17, 9:22 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया