राँगो ढाल्न ७ प्रहरी परिचालन, थ्री नट थ्रीबाट गोली प्रहार

बेसीशहर । लमजुङ जिल्लामा काट्न तयारी अवस्थामा राखिएको राँगो भागेपछि नियन्त्रणमा लिन गोली प्रहार गरिएको छ ।

बुधबार बिहान ०९ः४५ बजे सुन्दरबजार नगरपालिका वडा नं. ६ खत्रीठाँटीका सुकबहादुर श्रेष्ठको छोरीलाई गुफाबाट निकालिएको सांस्कृतिक परम्पराको अवसरमा भोजका लागि राँगो काट्ने तयारी गरिएको थियो ।

राँगोलाई नियन्त्रणमा लिन प्रहरीले एक राउन्ड हवाई फायर गरेको छ । राँगो नियन्त्रणमा लिने स्थानीयहरूको बारम्बारको प्रयास विफल भएपछि प्रहरीलाई खबर गरिएको थियो ।

राँगो नियन्त्रणमा लिन इलाका प्रहरी कार्यालय भोटेओडार र सुन्दरबजारबाट ७ जना प्रहरीको टोलीले खटिएको थियो । प्रहरीले गोली प्रहार गरेर ११ बजेतिर राँगोलाई नियन्त्रणमा लिएको थियो ।

राँगोलाई गोली प्रहार गर्न प्रहरीले जिल्ला प्रशासन कार्यालय लमजुङसँग आदेश लिनु परेको थियो । राँगोलाई प्रहरीले ३०३ राइफलबाट १ राउण्ड गोली फायर भएको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक थानेश्वर चपाईंले बताएका छन् ।

Published : Friday, 2024 April 26, 8:25 am

फेसबुकबाट तपाईको प्रतिक्रिया