१५३ यात्रु बोकेको जहाजका दुबै पाइलट निदाए

लण्डन । इन्डोनेशियाको एउटा स्थानीय वायु सेवा बटिक एअरको उडानका क्रममा विमानमा भएका दुवै पाइलट निदाएको घटना सार्वजनिक भएको छ ।

सूलवेसीदेखि राजधानी जकार्तासम्मको उडानका क्रममा एअरबस ए३२० उडानका दुवै चालकहरू झन्डै २८ मिनेटसम्म निदाउँदा विमान छोटो समयका लागि आफ्नो बाटोबाट बाहिर गएको बीबीसीले जनाएको छ । घटनाबारे यातायात मन्त्रालयले छानबिन अगाडि बढाएको छ ।

जहाज सुरक्षित अवतरण गरेको छ । विमानमा सवार १५३ यात्रु र चालकदलका सदस्य कसैलाई कुनै चोट लागेको छैन । घटना २५ जनवरीमा भएको थियो । जहाजका दुवै पाइलटलाई निलम्बन गरिएको छ ।

उडान सुरु भएपछि ३२ वर्षे लीडपाइलटले कोपाइलटलाई आफूलाई आरामको आवश्यकता रहेको भन्दै विमानको हेरविचार गर्न भनेको बताइएको छ । २८ वर्षे कोपाइलटले सहमति जनाएको यातायात मन्त्रालयको एउटा प्रतिवेदनमा उल्लेख छ ।

केहीबेरमा कोपाइलट पनि निदाएका थिए । उनकी श्रीमतीले जुम्ल्याहा बच्चा जन्माएको एक महिना मात्र भएको थियो । उनी पनि बच्चाको रेखदेखमा संलग्न थिए ।

जकार्तामा रहेको एअर ट्राफिक कन्ट्रोल कार्यालयले विमानको ककपिटमा सम्पर्क गर्दा कुनै जवाफ नभएपछि घटनाबारे पहिलो पटक थाहा भएको थियो । ट्राफिक कन्ट्रोलको सम्पर्कमा रहेको रेडिओ उपकरण २८ मिनेटसम्म मौन रहेको बताइएको छ ।

लीडपाइलट बिउँझिदा उनले आफ्ना कोपाइलट निदाएको र विमान केही समयका लागि निर्धारित मार्गभन्दा बाहिर गएको पत्ता लगाएका थिए ।

उनी जकार्ता ट्राफिक कन्ट्रोलको सम्पर्कमा आएकाले विमानको सुरक्षित अवतरण गराउन सफल भएका छन् । सन् २०१९ मा यसै कम्पनीको एक विमानका चालक बेहोस भएपछि विमानको आकस्मिक अवतरण गराइएको थियो ।

Published : Monday, 2024 March 11, 4:10 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया