दुई महिनाभित्रै देखियो एमालेसहितका दलहरूबीचको गठबन्धनभित्र खटपट, माधव नेपालले खोले कुरा

काठमाडौं । एमाले र नेकपा (एकीकृत समाजवादी)बीच निकै ठूलो विवादका साथै खाडल देखिएको छ ।

केन्द्र सरकार बनेको दुई महिनाभित्रै नयाँ गठबन्धनभित्र विवाद देखिएको छ । एमालेका अध्यक्ष केपी ओली र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच सार्वजनिक रुपमा विवाद देखिएको छ । उनीहरूका बीच एकले अर्कालाई कटु आलोचना गरिरहेका छन् ।

अध्यक्ष ओलीले अध्यक्ष नेपालप्रति लक्षित गरेर निकै तल्लोस्तरका अभिव्यक्ति दिएपछि दुई पार्टीबीच विवाद देखिएको हो । ओलीले वाम एकता र समाजवादी मोर्चाको विपक्षमा राजनीतिक प्रतिवेदन नै तयार पारेर गोदावरीमा सम्पन्न एमालेको राष्ट्रिय परिषद् बैठकबाट पारित गराएका छन् । ओलीले वाम गठबन्धन वा कम्युनिस्टहरूका बीचको एकतालाई घुमाउरो भाषामा अस्वीरका गरेका छन् ।

सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष नेपालले अहिलेको गठबन्धन सहज ढंगले अघि नबढेको बताएका छन् । नेपालको यो अभिव्यक्तिले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ निकै तनाबमा रहेको संकेत गरेको छ । ओलीले प्रधानमन्त्री दाहाललाई आफ्नो दवावमा राखेका छन् भन्ने कुराको पुष्टि नेपालको भनाइले गरेको छ ।

नेपालले प्रधानमन्त्री दाहालको गठबन्धनमा आफूहरूलाई असहज भएको बताएका छन् । उनले वर्गीय शत्रु र मित्र छुट्याएर अगाडि बढ्नुपर्ने बताएका छन् ।

‘नेपालको राजनीतिक जटिल छ । गठबन्धन जुट्ने र फुट्नेक्रम जारी छ’, उनले भने, ‘कति दिन यो गठबन्धन टिक्ने हो ? त्यसको जवाफ प्रधानमन्त्रीले दिनुहुन्छ, म भन्न सक्दिनँ । हामी सहज ठानिरहेका छैनौं ।’

उनले भने, ‘कसैका धाकधम्की, गाली गलौच सुन्न हामी राजनीतिमा लागेका होइनौं, कसैको दास बन्न हामी राजनीतिमा आएका होइनौं ।’

‘लोकतन्त्रको झण्डा अझै बुलन्द गर्नुपर्छ’, नेपालले भने, ‘जनताका जनजीविकाको सबाल हामीसँग जोडिएको छ । जनताको पक्षमा हामी लाग्नुपर्छ ।’

‘कम्युनिष्ट जनतासँग एकाकार हुन सक्नुपर्छ’, नेपालले भने, ‘परिवर्तनको संवाहक जनता हुन् भन्ने सन्देश प्रवाह नगरेसम्म कम्युनिष्ट आन्दोलन सफल हुँदैन ।’

अध्यक्ष नेपालको अभिव्यक्तिले सबैभन्दा ठूलो समस्यामा प्रधानमन्त्री दाहाल रहेको संकेत गरेको छ । ओलीसँग जे अपेक्षा राखेर गठबन्धन गर्न दाहाल पुगेका थिए अहिले आएर धोका भएको छ ।

ओलीले दाहाल र नेपाललाई कुनै पनि कुरामा सरसल्लाह लिँदैनन् । ओलीको मिचाहा प्रवृत्तिबाट नेपालले खुलेरै विरोध गरेका छन् ।

प्रधानमन्त्री दाहालले खुलेर बोल्न सकिरहेका छैनन् । यी समग्र कुराले एमालेसँगको गठबन्धन प्रधानमन्त्री दाहालका लागि ठूलो समस्या बनेको छ ।

Published : Monday, 2024 April 22, 3:59 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया