सहकारी ठग लामिछानेबारे थापाले के भने ? सहकारीको पैसा ग्यालेक्सीमा लैजाने, थाहा छैन भन्ने ?

इलाम । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कुनै कुल वा वंशमा जन्मिएकै आधारमा विशेष अधिकार पाउनु गणतन्त्र नभएको बताएका छन् ।

शनिबार इलाममा कांग्रेसले आयोजना गरेको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै थापाले आफ्नो मिहिनेतको आधारमा राजनीति गरेकालाई कसैको परिवारको सदस्य भएकै आधारमा अधिकारबाट वञ्चित गराउन नहुने बताए । उनले सिङ्गो देश नै गणतन्त्रमा गएको वेला इलामले राजतन्त्र रोज्न नहुने बताएका छन् ।

उनले भने, ‘सुवासचन्द्र नेम्वाङका विचारमध्ये नेपालमा गणतन्त्रको अर्थ कुलमा जन्मेको र वंशमा जन्मेको आधारमा वा कसैको पुत्र वा पुत्री भएको आधारमा कसैले विशेष अधिकार पाउँछ भने त्यो गणतन्त्र होइन भन्ने थियो ।’

‘सुवासचन्द्र नेम्वाङ यहाँ भएको भए अहिले यही कुरा भन्नुहुने थियो ?’, प्रश्न गर्दै थापाले भने, ‘कुनै व्यक्तिले आफ्नो मिहिनेतको आधारमा राजनीति नै गरेको छभने कसैको परिवारको सदस्य भएको आधारमा उसले पाउने अधिकारबाट वञ्चित गराउन हुँदैन ।’

‘तर, कोही कसै वंशमा जन्मिएको आधारमा मात्र हो भने सिंगो देश गणतन्त्र गएको वेलामा के इलामले राजतन्त्र खोजेको हो ?’, उनले भने ।

उत्तेजनाको राजनीति वा चेतनाको राजनीतिलाई स्वीकार गर्ने भन्ने फैसला पनि इलाममा हुन लागेको उपनिर्वाचनले गर्ने थापाले बताए ।

महामन्त्री थापाले भने, ‘यो उपनिर्वाचनले उचाल्ने राजनीतिलाई स्वीकार गर्छ कि मिलाउने राजनीतिलाई स्वीकार गर्छ भन्ने फैसला गर्छ । हामीले सबै कुरा गर्न सक्छौँ भन्ने होइन, हामी मिलाउन सक्छौँ, सम्हाल्न सक्छौँ ।’

‘कांग्रेससँग सम्हाल्ने शक्ति छ । तपाईंले कस्तो शक्ति खोज्नुभएको हो ?’, थापाले भने, ‘पहिचानवादी साथीहरूलाई सोध्न चाहन्छु, पहिचानको नाराको सम्बोधन होस् भन्ने चाहना हो कि नारा मात्र रहोस् भन्ने चाहनुहुन्छ ?’

महामन्त्री थापाले सहकारीको करीव २ अर्ब रुपियाँ गोर्खा मिडिया प्रालिको ग्यालेक्सी टिभीमा लगानी भएको बताउँदै त्यसका मालिकलाई कारबाही हुनुपर्ने बताए ।

उनले गोर्खा मिडियाका अध्यक्ष जीबी राई र निर्देशक रवि लामिछानेलाई कारबाही हुनुपर्ने बताए । जीबी राई फरार रहेको भन्दै थापाले लामिछाने सहकारी ठगीबाट बच्न गृहमन्त्री बनेको बताए । थाहा छैन भनेको भरमा सहकारी ठगीबाट कसैले उन्मुक्ति नपाउने महामन्त्री थापाले बताएका छन् ।

सहकारी ठगीबारे अनुसन्धान गर्न कांग्रेसले संसदीय छानविन समिति बनाउन माग गरेको भन्दै थापाले छानविन समिति बनाउन किन डराएको हो भनेर गृहमन्त्री लामिछानेमाथि प्रश्न गरेका छन् ।

Published : Saturday, 2024 April 20, 9:23 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया