कांग्रेसको अबरोध छल्न प्रचण्ड-ओली सरकारले रोज्यो चोरबाटो, लामिछाने बचाउने चक्करमा सरकार असफल

काठमाडौं । नेपाली कांग्रेससहित विपक्षी दलहरुले उठाउँदै आएको लाखौं जनताले सहकारीमा जम्मा गरेको अरबौं रकम हिनामिना ठगी भएको र उक्त जनविरोधी अपराधजन्य कार्यमा स्वयं सरकारका मन्त्री संलग्न रहेको विषय घाम जस्तै छर्लङ्ग भई सकेको नेपाली कांग्रेसले जनाएको छ ।

आइतबार नयाँ बानेश्वरमा बसेको कांग्रेस संसदीय दलको बैठकले भनेको छ, ‘सरकार उक्त विषयमा तथ्य परक रुपले छलफल सम्वाद नगरी जनताका सवालमा गैरजिम्मेवार हुँदै संसदको अधिवेशन नै अन्त्य गरी भागेको घटनाले यस विषयलाई थप पुष्टि गरेको छ ।’

‘आम नागरिकमा यदि मन्त्रीको संलग्नता थिएन भने किन संसदीय छानविन समिति गठन गर्न तर्सिनु पर्ने ? किन सरकार सदनबाट भाग्नु पर्ने ? भन्ने विषय गम्भीरतापूर्वक उठेका छन् जसमा सरकार अनुत्तरित छ’, कांग्रेसले प्रश्न गर्दै भनेको छ ।

‘नेपाली कांग्रेस संसदीय दलको यो बैठक सहकारी पीडितका पक्षमा, सहकारीको रकम ठगी गर्ने अपराधीका विरुद्धमा र यस विषयको स्वतन्त्र, निष्पक्ष र विश्वसनीय छानविनको पक्षमा थप दृढतापूर्वक उभिई रहने प्रतिवद्धता व्यक्त गर्दछ’, कांग्रेसले भनेको छ ।

‘हाम्रो संसदीय अभ्यासमा सदनलाई कार्यबोझ (संसदीय विजनेस) सरकारले दिने हो’, कांग्रेसले भनेको छ, ‘खास गरी विधायन (कानून निर्माण) को विषयमा विधेयक प्रस्तुत गर्ने, यसमा सदन भित्र प्रभावकारी छलफल गराउने, दलहरुबीच वार्ता र सम्वाद गरी विधायनको (कानून निर्माण) कार्यलाई निष्कर्षमा पुर्‍याउने जिम्मेवारी सरकारको हुन्छ ।’

‘तर, सरकार यस अधिवेशनमा संघीयता लगायत संविधान कार्यान्वयन गर्ने, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था सुदृढ गर्ने, नागरिकका मौलिक हकअधिकारको प्रचलन गर्ने, नागरिकका दिनानुदिनका समस्या सम्वोधन गर्ने र नागरिकका जनजीविकाका सवालहरु सम्वोधन गर्ने, विधेयक सदनमा प्रस्तुत गर्न सर्वदा असफल भयो’, कांग्रेसले भनेको छ ।

‘सदनमा विचाराधीन विधेयक पारित गर्न पनि सरकारको गम्भीरता, जिम्मेवारीपन र जवाफदेहिता देखिएन’, कांग्रेसले भनेको छ, ‘फलस्वरुप महत्वपूर्ण कानून निर्माण नभईकनै अधिवेशनको सरकारले अन्त्य गर्ने निर्णय ग¥यो ।’

‘नेपाली कांग्रेस संसदीय दलको यो बैठक सरकारका गैर जिम्मेवारपूर्ण गतिविधिका कारण सरकार स्वयं असफल भएको ठहर गर्दछ’, विज्ञप्तिमा भनिएको छ, ‘साथै यो बैठक सरकारका यस्ता काम कारवाहीले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन र संसदीय व्यवस्था नै कमजोर हुने विषयमा चिन्ता व्यक्त गर्दछ ।’

गृहमन्त्री रवि लामिछाने सहकारीको अरबौं रकम हिनामिना र ठगी काण्डमा मुछिएपछि कांग्रेसले संसदीय छानविन समितिको माग गर्दै आएको छ । कांग्रेसले समितिको माग गरेर सदन अवरुद्ध गरेपछि सरकारले चोरबाटोबाट सदन बन्द गरेको छ ।

यसैबीच, कांग्रेसले नयाँ वर्ष २०८१ सालको अवसरमा शुभकामना दिएको छ । विज्ञप्तिमा भनिएको छ, ‘नेपाली कांग्रेस संसदीय दलको यो बैठक नयाँ वर्ष २०८१ सालको अवसरमा देश विदेशमा रहनु भएका सबै नेपाली दिदीबहिनी तथा दाजुभाईहरुमा सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको कामना व्यक्त गर्दछ ।’

Published : Sunday, 2024 April 14, 7:48 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया