सहकारी ठगका आरोपी गृहमन्त्री लामिछानेलाई बचाउन संसद बन्द गरेपछि सरकारका हर्कतविरुद्ध कांग्रेसको चेतावनी

काठमाडौं । नेपाल सरकारले अर्को अधिवेशन (बजेट अधिवेशन)को लागि पर्याप्त समय हुँदाहुँदै अप्रत्यासित र असामयिक रुपले संघीय संसदको चालु अधिवेशन अन्त्य गर्ने निर्णय गरेको भन्दै नेपाली कांग्रेसले आफ्नो ध्यान गम्भीर रुपले आकृष्ट भएको जनाएको छ ।

आइतबार संसद भवन नयाँ बानेश्वरमा बसेको संसदीय दलको बैठकले जनताका प्रत्यक्ष सरोकारका विषयमा गैरजिम्मेवार हुँदै संघीय संसदको चालु अधिवेशन अन्त्य गर्ने सरकारको निर्णयको घोर भर्त्सना र निन्दा गर्ने निर्णय गरेको छ ।

बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘सरकारलाई यस्ता अलोकतान्त्रिक र संसदीय मूल्य मान्यताका विरुद्ध कार्य नगर्न कडा चेतावनी दिने निर्णय गर्दछ ।’

कांग्रेसले भनेको छ, ‘संघीय संसदमा सबै विपक्षी दलहरुले आमनागरिकसँग प्रत्यक्ष सरोकार भएको सहकारीमा बचत भएको रकम हिनामिना, अपचलन, दुरुपयोग र ठगी भएको विषय उठाउँदै आएका थिए ।’

‘सरकारमा रहेका वहालवाला उपप्रधानमन्त्री तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने समेत संलग्न रहेको हुँदा स्वतन्त्र, निष्पक्ष र विश्वसनीय छानविनको सुनिश्चितताका निम्ति संसदीय छानविन समिति गठन गर्नुपर्ने विषयमा सरकारलाई विपक्षीको माग प्रति गम्भीर हुन सत्तापक्षकै कतिपय माननीयहरुले सरकारको ध्यानाकर्षण गर्नु भएको थियो’, कांग्रेसको विज्ञप्तिमा उल्लेख छ ।

‘सरकारले सदनमा बहुसंख्यक सदस्यहरुले उठाएको विषयबारे गम्भीर र सार्थक सम्वाद गरी निष्कर्षमा पुग्नु पर्नेमा जनताको सरोकारको विषयमा वेवस्ता गर्दै संसदबाट भाग्ने काम गरेको छ’, कांग्रेसले भनेको छ, ‘सरकार संसदका प्रति उत्तरदायी हुनुपर्ने, जवाफदेही ढङ्गले प्रस्तुत हुनुपर्ने संसदीय मूल्य मान्यताका वर्खिलाप संसदीय अभ्यासमा आघात गर्ने र प्रकारात्मकले संसदीय व्यवस्थालाई कमजोर बनाउने हर्कत गरेको छ ।’

‘प्रतिपक्षको अवरोधका कारण संसद चल्न नसकेको भनि सत्तापक्षबाट हुने गरेका तर्क हास्यास्पद मात्र होइन लज्जास्पद पनि छन्’, कांग्रेसले भनेको छ, ‘नेपाली कांग्रेसले एक महिनादेखि सहकारी ठगीमा सरकारको उपप्रधानमन्त्री तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको संलग्नताको विषय तथ्य र प्रमाण सहित उठाउँदै आएको तर संसदका कुनै पनि काम कारवाही अवरोध गरेको थिएन ।’

‘यस बीचमा सरकारको अपरिपक्वता, गैरजिम्मेवारी र तानाशाही प्रवृत्तिका कारण दुई दिन केही अवरोध भएको हो जसको जिम्मेवारी सरकारले नै लिनु पर्दछ’, कांग्रेसले भनेको छ, ‘हामी यस पूर्व प्रतिपक्षमा रहेका दलहरुले कति दिनसम्म संसद अवरुद्ध गरेका थिए भन्ने इतिहास पनि स्मरण गर्न आग्रह गर्दछौं ।’

Published : Sunday, 2024 April 14, 7:32 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया