प्रजातन्त्रवादीको लागि मुख्यमन्त्री चेञ्ज हुनु ठूलो कुरा होइन, संघीयता र संविधान रक्षा चुनौति हो : डिल्लीबहादुर चौधरी

देउखुरी । नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभा संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले प्रजातन्त्रवादी पार्टीलाई मुख्यमन्त्री चेञ्ज हुने कुरा कुनै नयाँ नभएको बताएका छन् ।


शुक्रबार देउखुरीको मसुरियामा लुम्बिनी प्रदेश सभाको बैठकमा सम्बोधन गर्दै निवर्तमान मुख्यमन्त्री समेत रहेका चौधरीले प्रजातन्त्रमा मुख्यमन्त्री पद परिवर्तन भइरहने बताए । उनले भने, ‘साँच्चै भन्ने हो भने नेपाली कांग्रेस प्रजातन्त्रवादी हो ।

प्रजातन्त्रवादीको लागि मुख्यमन्त्री चेञ्ज हुनु ठूलो कुरा होइन । संविधानलाई रक्षा गर्न सक्छौं कि सक्दैनौं भन्ने कुरा हाम्रो लागि ठूलो कुरा हो ।’


नेता चौधरीले संघीयता र संविधानलाई लागू गर्नुपर्ने चुनौति रहेको बताए । उनले भने, ‘सुशील कोइरालाको नेतृत्वमा बनेको संविधान लागू होस् भन्ने कांग्रेस चाहन्छ । संविधान कार्यान्वयन होस् भन्ने चाहन्छ ।’


प्रधानमन्त्री पुष्पकमल दाहालले संघीयतालाई सखाप पार्ने रणनीतिका साथ अगाडि बढेको आरोप नेता चौधरीले बताएका छन । ‘प्रधानमन्त्रीले पुलिस पठाइदिन्छु है भन्नु हुन्छ । जहाँ जानु हुन्छ संघीयता कार्यान्वयन हुन्छ भन्नु हुन्छ । अधिकार सम्पन्न गर्नुपर्छ भने । संघीयता भाषणमा मात्रै सीमित भएको छ’, उनले भने ।


उनले भने, ‘नेपाली कांग्रेसको सदस्यको हैसियतले हामीले खोजेको समावेशी, हामीले खोजेको नेपाली कांग्रेस चाहन्छ । हामीले पनि धेरै कुरा गर्न सकेका छैनौं ।’


‘नेपाली कांग्रेसले आफ्नो विधानमा सबै जातजातिलाई सहमहामन्त्री बनाएर डिसिजन मेकिङ ठाउँमा बनायो । सायद म नेपाली कांग्रेसमा भएर एउटा थारुको छोरो आज मुख्यमन्त्री हुने मौका पाएँ’, नेता चौधरीले भने ।


‘नेपाली कांग्रेसमा नभएर मभन्दा धेरै क्यापेबल साथीहरू माओवादीमा पनि हुनु हुन्छ । मेरो दुइटा मित्र प्रमुख सचेतक हुनुहुन्छ’, चौधरीले भने, ‘उहाँको पालो आउँछ कि आउँदैन थाहा छैन मलाई । तर, भन्दा कम क्यापेबल हुनुहुन्न भन्ने मलाई लाग्छ ।’

उनले नयाँ मुख्यमन्त्रीले विश्वासको मत लिँदै गर्दा धेरै कुर्सी खाली रहेको भन्दै वितृष्णाका कारण यस्तो अवस्था आएको बताए ।नेता चौधरीले भने, ‘नयाँ मुख्यमन्त्री पाएका छौं । उहाँमाथि विश्वास छ कि छैन भनेर छलफल गर्दै छौं । हामी छलफल गर्दै छौं । केही कुर्सीहरू खाली छन् ।’


‘राप्रपाले भोट हाल्दैन, तटस्थ बस्छु भन्यो । अर्को दल पनि थपियो’, उनले भने, ‘थप्दै थप्दै भोलि यो सभाको सबै कुर्सी खाली भएर संघीयतामाथि नै ठूलो प्रश्न चिन्ह त आउने होइन ? कता कता डरलाग्दो स्थिति देख्दैछु मैले ।’


‘यो डरलाग्दो स्थिति कसरी पार गर्ने हामीले ? यो ठूलो समस्याको रुपमा अहिले देखिएको छ । कतै संघीयता र संविधान लागू नहुँदै हामी अन्तिम हुने होइनौं ? त्यो पनि हामीमाथि प्रश्न उठेको छ’, उनले भने ।


‘साँच्चै भन्ने हो भने एकातिर जनाले संघीयताबाट के पायौँ भन्दै छन् । अर्कोतिर हामी आफ्नै कुर्सी खाली हुने स्थित देखेका छौं’, चौधरीले भने, ‘त्यो स्थितिमा यो आजको संसदले विश्वास र अविश्वासको कुरा गर्दै छौं ।’

चौधरीले भने, ‘कोहीमाथि विश्वास हुनु र कोहीमाथि अविश्वास हुनु ठूलो कुरो होइन । तर, व्यवस्था कसरी जोगिन्छ ? संविधान कसरी जोगिन्छ ? त्यो कुरा ठूलो हो ।’


उनले भने, ‘कतै संघीयताको कालो बादल मडारी रहेको अवस्थामा हामीले यो सबै खेलहरू त गरेका छैनौं । हामीलाई लाग्छ । प्रधानमन्त्रीलाई पनि लागेको होला ? मत सबैभन्दा ठूलो खेलाडी, म सबैभन्दा ठूलो खेलाडी लागेको होला ।’

‘तर, नेपाली जनतालाई के दिएँ ? के दिएँ ? के पाएँ ? मैले संविधान कार्यान्वयन गर्दै छु कि गर्दै छैन ? उहाँले पनि सोँच्ने बेला भएको छ’, उनले भने ।


कांग्रेस नेता चौधरीले भने, ‘फुत्त यता जाने, फुत्त उता जाने त्यसले संघीयतालाई धरापमा पार्ने नेपाली जनताको इच्छा र चाहना परिवर्तनको इच्छा र चाहना अझै धरापमा पर्ने हो कि भन्ने हामीले सोँच्नुपर्ने बेला भएको छ ।’


‘संघीयता आएपछि त्यो गन्र्धभले के पाउँ ? त्यो बालुवा चाल्नेले के पाउँछ ? बादी समुदायले के पाउँछ ? किसानले के पाउँछन् ? मलेसियामा युवाहरू तड्पिएका छन्’, उनले भने ।


‘संघीयता आएपछि धेरै समस्या समाधा गर्न सक्छौं भन्ने लागेको थियो । अझै पनि लागेको छ । तर, हामी जुन खेलामा लागेका छौं ? त्यो खेलबाट सम्भव छ कि छैन भन्ने कुराहरू हामीले बुझ्नु पर्ने बेला भएको छ’, चौधरीले भने ।


कांग्रेस नेता चौधरीले आफूहरू प्रमुख प्रतिपक्षमा बस्ने भन्दै एमाले र माओवादी केन्द्रको नयाँ गठबन्धनका मुख्यमन्त्री जोखबहादुर महरालाई विश्वासको मत नदिने बताएका छन् ।

Published : Friday, 2024 April 12, 3:37 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया