कांग्रेसको हितमा संगठन निर्माणमा काम गर्न नेता कार्यकर्तालाई सभापति देउवाको निर्देशन

भैरहवा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देश र जनताका लागि काम गर्ने क्रममा सहादत प्राप्त गरेका शहीदहरूको सम्मान हुन नसकेको बताएका छन् ।

बुधबार रुपन्देहीको तिलोत्तमा नगरपालिका–१३ टिकुलीगढमा निर्माण गरिएको शहीद यादवनाथ आलोकको पूर्णकदको सालिकको अनावरण गर्दै देउवाले शहीदहरू कुनै पार्टीको नभई देश र जनताको हुने भएकाले उनीहरूको सबैले सम्मान गर्नुपर्ने बताए ।

देउवाले अपराधीको जति नै निन्दा गरे पनि नपुग्ने उल्लेख गरेका छन् । शहीदको सपना पूरा गर्नु पनि दलहरूको कर्तव्य भएको बताएका छन् । यादवनाथ आलोकको सपना पूरा गरेरै छाडने सभापति देउवाले बताएका छन् ।

कार्यक्रममा एमालेका पोलिटव्यूरो सदस्य तथा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री लीला गिरीले यादवनाथ आलोकले पु¥याएको योगदानको सम्झना गरेका छन् । गिरीले शहीद यादवनाथ आलोकलाई जति सम्मान गरे पनि कमी हुने बताए ।

शहीद यादवनाथ आलोक स्मृति केन्द्रका अध्यक्ष हेमराज अर्यालको सभापतित्वमा भएको कार्यक्रममा शहीद पत्नी सीतालक्ष्मी न्यौपानेले श्रीमानले अगाडि सारेका चाहना र आंकाक्षा पूरा गर्न नेपाली कांग्रेसलाई आग्रह गरिन् ।

यसैबीच, नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं. ३ कार्यसमितिले भैरहवामा आयोजना गरेको नयाँ वर्ष २०८१ को शुभकामना आदान प्रदान तथा भेटघाट कार्यक्रममा सहभागी भएर सभापति देउवाले संठगन निर्माणमा लाग्न निर्देशन दिएका छन् ।

सभापति देउवाले पार्टीका कार्यकर्ताहरूलाई पार्टीको हितको लागि एकजुट भई लाग्न निर्देशन दिएका हुन् ।

आफैले उद्घाटन गरेको भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको लागि पनि आवश्यक पहल गर्ने देउवाले प्रतिवद्धता समेत जनाएका छन् ।

Published : Wednesday, 2024 April 10, 8:53 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया