कांग्रेसपछि सहकारीबारे छानविन समिति माग गर्ने दलहरू बढे, सदन अबरुद्ध

काठमाडौं । संसदीय छानविन समितिको मागसहित नेपाली कांग्रेससहितका प्रतिपक्षहरूले प्रतिनिधि सभाको बैठक अवरुद्ध गरेका छन् ।

बुधबार बसेको प्रतिनिधि सभाको बैठकलाई सभामुख देवराज घिमिरेले नियमित कार्यबाहीमा प्रवेश गराउन शून्य समयको कार्यक्रम राखेपछि कांग्रेसका सांसदहरू आफ्नो सिटबाट उभिएका थिए ।

राप्रपाका सांसदहरूपनि आफ्नो सिटबाट उभिएर सहकारीको छानविनसहित गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरेका छन् ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, राप्रपा र लोसपाले बैठक अवरुद्ध गरेका हुन् ।

आकस्मिक समय सकिएलगत्तै प्रतिपक्षी दलहरू आ–आफ्नो स्थानमा उठेर बैठक अवरुद्ध गरेका थिए । सभामुख घिमिरेले आगामी वैशाख २ गते ११ बजेसम्मका लागि बैठक स्थगित भएको जानकारी गराएका छन् ।

सहकारीको करोडौं रुपियाँ अपचलनमा मुछिएका गृहमन्त्री लामिछानेमाथि संसदीय छानबिन समितिको माग गर्दै कांग्रेसले संसद अवरुद्ध गर्दै आएको छ ।

आकस्मिक समयमा कांग्रेस सांसद रामहरि खतिवडाले रास्वपा सभापति लामिछाने गृहमन्त्री भएलगत्तै सहकारीको रकम हिनामिनामाथिको छानबिन रोकिएको बताए । उनले अनुसन्धान गर्ने प्रहरीलाई लामिछानेले सरुवा गरिदिएको बताए ।

राप्रपाका सांसद ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले पनि सहकारीको विषयमा संसदीय छानबिन समिति गठनको माग गरेका छन् ।

‘सहकारीको समस्या समाधानको सम्बन्धमा छानबिन समिति बनाऔं’, उनले भनेका छन् ।

सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी)का सांसद राजेन्द्रप्रसाद पाण्डेले सहकारीबारे संसदीय छानबिन समिति गठन गर्नुपर्ने प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको मागलाई ध्यान दिन सरकारलाई आग्रह गरेका छन् ।

जसपाका सांसद प्रदीप यादवले वीरगञ्जको सानो पाइला सहकारी संस्थाका बचतकर्ता पनि पीडित भएको बताए । उनले पीडितलाई न्याय दिन सरकारको ध्यानाकर्षण गराएका छन् ।

Published : Wednesday, 2024 April 10, 1:41 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया