२३ लाख उठाउँदा २/३ लाख दिन्छु भन्ने रास्वपाका मन्त्रीको अभिव्यक्ति गैह्रजिम्मेवार : कांग्रेस सांसद खतिवडा

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मन्त्रीको २३ लाख उठाउँदा २/३ लाख दिन्छु भनेर दिएको अभिव्यक्तिको जोडदार रुपमा आपत्ति जनाएका छन् ।

बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा आकस्मिक समयमा बोल्ने क्रममा खतिवडाले मन्त्री जस्तो मान्छेले सहकारीको रकम उठाउँदा २/३ लाख दिन्छु भनेर दिएको अभिव्यक्ति गैह्र जिम्मेवार रहेको बताए । आफ्नै पार्टीको सभापति गृहमन्त्री भएको बेला रकम उठाउन पैसा दिनुपर्ने कस्तो गृह प्रशासन र सरकार हो भनेर चिन्ता जनाए ।

राज्य व्यवस्था तथा सुशासन समितिका सभापति समेत रहेका सांसद खतिवडाले भने, ‘एउटा पार्टीका मन्त्रीले मेरो त २३ लाख ठगी भयो, सहकारीमा भन्नुभए छ । गृहमन्त्रीलाई आफ्नै मन्त्रीले ठगी भो भनेर भन्दा पनि गृहमन्त्रीको ध्यान गएको छैन । कसले छानविन गर्ने हो त निष्पक्ष ? संसदीय छानविन समिति गठन नगरेपछि ?’

‘फेरि अर्को सुने मन्त्रीले मेरो पैसा उठाइदिए २/३ लाख दिन्छु भन्नु भएछ ? यो कस्तो पार्टी र सरकार छ’, उनले भने ।

‘पैसा उठाउँदा पनि पैसा दिनुपर्ने कस्तो कुरा मन्त्रीले गरेको हो ? त्यो पनि हामी जवाफ चाहन्छौँ’, खतिवडाले भने ।

रास्वपाका उपसभापति समेत रहेका डोलप्रसाद अर्याल श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री छन् । अर्यालले आफ्ना रकम सहकारीबाट उठाइदिएमा २/३ लाख दिन्छु भनेर घुस खुवाउने कुरा गरेका थिए ।

Published : Wednesday, 2024 April 10, 1:11 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया