रवि–स्वर्णिम–सुमनलाई छोराछोरी–श्रीमान्–श्रीमती नेपाल ल्याउन ज्ञानेन्द्र शाहीको चुनौती

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता एवम् सांसद ज्ञानेन्द्र शाहीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहित स्वर्णिम वाग्ले र सुमना श्रेष्ठका छोराछोरीलाई नेपाल ल्याउने चुनौती दिएका छन् ।

मंगलबार राति प्राइम टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमको अन्तर्वार्तामा पत्रकार ऋषि धमलासँग सांसद शाहीले सुमना श्रेष्ठको पति र छोराछोरी तथा स्वर्णिम वाग्लेको पत्नी र छोराछोरीलाई नेपाल ल्याउन आग्रह गरे । उनले स्वर्णिम वाग्ले पूर्वमन्त्री चिरञ्जीवी वाग्लेका आफन्त रहेको भन्दै भ्रष्टाचारीका आफन्तहरूले धेरै बोल्न नहुने बताए ।

शाहीले भने, ‘प्रचण्डलाई बन्दुक बोकाउने र तपाई (रवि लामिछाने)को पार्टी चलाउने मालिक अहिले एउटै छ । यो कतिपय कुरालाई मन नपर्ला । जो दुबई कतारतिर हुनुहुन्छ यो कुरा उहाँहरूलाई ज्ञान नै हुँदैन ।’

सांसद शाहीले भने, ‘आज यी नेताहरूको छोराछोरीलाई नेपाल ल्याइदिनुस् न । सुमना श्रेष्ठले आफ्नो श्रीमानलाई नेपाल ल्याएर आउनुस् न । उहाँका छोराछोरी नेपाल ल्याउनुस् त । स्वर्णिम वाग्लेले उहाँका छोराछोरी नेपाल ल्याउनुस् न ।’

सुमनाले विदेशी पुरुष र स्वर्णिमले विदेश महिलासँग विवाह गरेका छन् । उनीहरूका छोराछोरी विदेशमै छन् । लामिछानेका छोरीहरू अमेरिकामा बस्छन् ।

‘एमाले, कांग्रेस, माओवादी र हाम्रा राप्रपाका केही नेताले पनि आफ्ना छोराछोरी नेपाल ल्याउनुस् न । यसको मतलब राप्रपा चोखो छ भन्दैन ।’

‘स्वयं गृहमन्त्रीले आफ्ना छोराछोरी नेपाल ल्याउनुस् न त’, सांसद शाहीले भने, ‘यदि तपाईलाई देश बनाउने हिम्मत र हुटहुटी छभने । तपाई टाइसुट लगाएर, चिटिक्क परेर फाइभ स्टार होटलमा बसेर एउटा क्यामरा बोकेर तपाईले हिँडेको फोटो खिचेर, तपाईको फोटो खिचेर हिँड्ने मान्छे दीपक बोहरा हुन्, नाम पनि भन्दिन्छु, क्यामरा नै बोकेर हिँड्छन् ।’

सांसद शाहीले रास्वपालाई क्रिश्चियनहरूले लगानी गरेको आरोप लगाएका छन् । उनले हिन्दुहरूको घण्टीलाई चुनाव चिन्ह बनाएर रास्वपाले समानुपातिकमा धेरै सिट जितेको बताए । उनले क्रिश्चियनको क्रस चुनाव चिन्ह राखेको भए पत्तासाफ हुने बताए ।

Published : Wednesday, 2024 April 10, 11:50 am

फेसबुकबाट तपाईको प्रतिक्रिया