सभापति देउवाले इलाम र बझाङको उपनिर्वाचनबारे बिफ्रिङ लिए, कस्तो छ कांग्रेसको अवस्था ?

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपनिर्वाचनमा उम्मेदवार बनाउने विषयमा आन्तरिक परामर्श गरेका छन् ।

सोमबार सभापति देउवाले आफ्नो निवास बुढानीलकण्ठमा पदाधिकारीहरूसँग उपनिर्वाचनका सन्दर्भमा परामर्श गरेका हुन् ।

प्रवक्ता डा.प्रकाशशरण महतले उपनिर्वाचनका विषयमा छलफल भएको बताए । कांग्रेसभित्रको अन्तरिक कमजोरीहरू व्यवस्थापन गरेर मिलेर जाने हो भने उपनिर्वाचनमा कांग्रेसका उम्मेदवारहरू निर्वाचित हुने सुझाव आएको छ । कांग्रेसप्रति जनताको आशा र भरोसा रहेको तर, आन्तरिक असन्तुष्टिहरू व्यवस्थापनको आवश्यक्ता रहेको सुझाव आएको छ ।

सभापति देउवाले पदाधिकारीसहित शीर्ष नेताहरूलाई परामर्शका लागि बोलाएका थिए । महामन्त्री विश्वप्रकाश शर्मा, सहमहामन्त्री भीष्मराज आङ्दम्बे लगायतले इलाम—२ र बझाङको उपनिर्वाचनमा कांग्रेसको पोजिशनका बारेमा बिफ्रिङ गरेका छन् ।

सभापति देउवाले इलाम २ को अध्ययन गर्न महामन्त्री शर्मा, सहमहामन्त्री आङदम्बे र कोशी प्रदेश सभापति उद्धव थापालाई पठाएका थिए ।

बझाङ प्रदेशसभा क्षेत्र नं. १ को अध्ययन गर्न सहमहामन्त्री आङदम्बे, सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरलाई पठाइएको थियो । उनीहरूले विपक्षीका साथै पार्टी सबल र कमजोर पक्षको विश्लेषणसहितको रिपोर्ट प्रस्तुत गरेका छन् ।

प्रवक्ता डा.महतले भने, ‘आज इलाम र बझाङ गएका साथीहरूसँग बिफ्रिङ लिने काम भयो । आइडिया पनि शेयर भयो ।

‘अन्य नेताहरूले पनि आ—आफ्नो राय सुनाएका थिए । परिस्थितिको विश्लेषण भयो’, डा.महतले भने, ‘उम्मेदवार चयनको निर्णय भोलि हुन्छ ।’

वैशाख १५ गते हुने इलाम– २ र बझाङ प्रदेश सभा क्षेत्र नं. १ को उपनिर्वाचनका उम्मेदवार तय गर्न कांग्रेसले मंगलबार कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।

कांग्रेसको निर्वाचन क्षेत्रीय समिति, जिल्ला र प्रदेश कार्यसमितिले उम्मेदवारका आकांक्षीको नाम केन्द्रमा सिफारिस गरिसकेका छन् ।

इलाम– २ का लागि कांग्रेसबाट जिल्ला सभापति डम्बर खड्का, नेताहरू भेषराज आचार्य, केशव थापा, नगेन्द्र कुमाल, रमेश लिङ्देन, चन्द्रमाया लिम्बू र शशिकला राईको नाम सिफारिस भएको छ ।

बझाङको प्रदेश सभा क्षेत्र नं. १ का लागि १० जनाको नाम सिफारिस छ । नेताहरू सत्यराज भण्डारी, विष्णुकुमार सिंह, जगतप्रसाद जोशी, अभिषेक सिंह, नन्दकृष्ण जोशी, लोकेन्द्रबहादुर रोकाया, शान्तिकुमारी बोहरा, अर्जुन स्याडाँ, ध्रुवराज उपाध्याय र नारायण हमालको नाम रहेको छ ।

इलाम र बझाङको अध्ययन गरेका नेताहरूले उम्मेदवारका आकांक्षीहरूको बलियो र कमजोर पक्षको सुनाएको प्रवक्ता डा.महतले बताएका छन् ।

Published : Monday, 2024 April 1, 8:26 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया