सहकारी ठगबारेमा निर्णय लिन केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाउन कांग्रेसमा माग

काठमाडौं । नेपाली कांग्रेसका नेता नैनसिंह महरले केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक आह्वान गर्न माग गरेका छन् ।

सोमबार काठमाडौंको नयाँ बानेश्वरमा आयोजित कार्यक्रममा महरले संयुक्त बैठकबाट अहिलेको परिस्थितिलाई निकास दिने निर्णय गर्नुपर्ने बताए ।
उनले भने, ‘सांसदले संसदमा उठाउने कुरा पार्टीलाई जानकारी नै नहुने हो भने पार्टीले त्यसको भारी बोक्न सक्दैन । मुलुक संवेदनशील अवस्थामा छ ।’

‘यस्तो अवस्थामा मुलुकलाई निकास दिन पार्टीको संसदीय दल र केन्द्रीय समितिको साझा धारणा हुनुपर्छ’, महरले भने, ‘त्यही धारणालाई बोकेर हामी जनतामाझ जानुपर्छ ।’

वर्तमान सरकारले सुशासनको दाबी गरिरहेको भए पनि भनाइ र व्यवहार ठ्याक्क विपरीत रहेको महरको आरोप छ । ‘सरकारले सुशासनको कुरा गरिरहेको भए पनि त्यो व्यवहारमा देखिँदैन’, उनले भने, ‘सहकारी ठगीको आरोप लागेका व्यक्तिलाई गृहमन्त्री बनाएर देशका प्रधानमन्त्री नै उनको बचाउमा उभिनु भएको छ ।’

सरकारका उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने सहकारी ठगीको आरोपी रहेको र उनलाई नै गृहमन्त्रालयको जिम्मेवारी दिइसकेपछि अनुसन्धान प्रभावित हुने कुरामा दुईमत नभएको महरले बताए ।

संसदभित्र कांग्रेसले उच्चस्तरीय छानबिन समिति गठन गर्न र गृहमन्त्रीमाथि छानबिन गर्न आवाज उठाएकोमा प्रतिपक्षीको आवाजलाई बेवास्ता गर्न खोज्नुले पनि सरकारको पारदर्शितामा ठूलो प्रश्न चिन्ह खडा भएको महरले बताए ।

कांग्रेसले अहिले सत्ताका लागि ¥याल काट्न नहुने महरले बताएका छन् । उनले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्दै कांग्रेसले राष्ट्र र राष्ट्रियतालाई बलियो बनाउने भूमिका खेल्नुपर्ने बताए ।

Published : Monday, 2024 April 1, 2:59 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया