२००४ सालमा पिकनिक जाने बहानामा नेपाल महिला संघ गठन गर्नुभयो : नेतृ सिंह

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ सिर्जना सिंहले स्व.मंगलादेवी सिंहको मूल्य, मान्यता र आदर्शलाई नयाँपुस्तासम्म पुर्‍याउनुपर्ने बताएकी छिन् ।

आइतबार काठमाडौंमा मंगलादेवी सिंह फाउण्डेसनले आयोजना गरेको कार्यक्रममा नेतृ सिंहले भनिन्, ‘स्व.मंगलादेवी सिंहको जीवनकालमा उहाँले गर्नुभएका कामहरूको मूल्याङ्कनलाई हामीले फेरि निरन्तरता दिँदै उहाँले देखाउनुको भएको बाटोमा हिँड्नुपर्छ ।’

‘महिलाहरूको सशक्तिकरण, महिलाहरूको राजनीतिक चेतवना, समाजमा हुने महिलाका भेदभावको अन्त्य र त्यस्तै थुप्रै कार्यहरू र उहाँको जीवनकालमा निकाल्नुभएका कीर्तिहरू र निकाल्न बाँकी भएका लेख, रचनाहरू प्रकाशित गर्नका लागि नयाँपुस्तालाई पनि उहाँका बारेमा जानकारी दिने उद्देश्य छ’, फाउण्डेसनकी अध्यक्ष समेत रहेकी नेतृ सिंहले भनिन् ।

आफ्नो जीवनकालमा मंगलादेवी सिंहले निकै कष्ट पाए पनि त्यसको कहिल्यै पनि प्रवाह नगरेको नेतृ सिंहले बताइन् ।

मंगलादेवी सिंहकी बुहारी समेत रहेकी नेतृ सिंहले भनिन्, ‘उहाँ स्वयं बडाकाजीको बुहारी हुनुहुन्थ्यो । उहाँलाई सुखसयल केहीको पनि कमी थिएन । तैपनि आफ्ना श्रीमान् जेलमा हुँदा महिलाहरूको लागि संगठित नभइकन महिलाको आवाज बुलन्द पार्न सक्दैनौँ भनेर २००४ सालमा पिकनिक जाने बहानामा नेपाल महिला संघको गठन गर्नुभयो ।’

‘महिलाहरूलाई आरक्षण चाहिन्छ, स्कुल जान पाउनुपर्छ, भोटिङ अधिकार चाहिन्छ भनेर उहाँले माग गर्नुभयो’, सिंहले भनिन्, ‘मंगलादेवी सिंहले सम्पत्तिमा अधिकार चाहिन्छ भन्ने यावत थुप्रै कुराहरू आफ्नै जीवनकालमा आवाज उठाउनुभयो । र, कार्यान्वयन पनि गरेर छाड्नुभयो ।’

Published : Sunday, 2024 March 31, 9:01 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया